नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय भीम रावल र घनश्याम भुसालले टिकट नपाउनु स्वाभाविक रहेको जिकिर गरेका छन्।
ललितपुरमा आयोजित कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै ओलीले एमालेको पक्षमा नबोल्ने र पार्टीको आन्दोलनको हितमा नबोल्ने नेताहरूले टिकट नपाउनु स्वाभाविक रहेको बताएका हुन्।
एमालेबाट पटक-पटक अवसर पाएर पनि पार्टीको हितमा नबोलेकाले उनीहरूलाई टिकट नदिएको ओलीको भनाइ छ।
‘एकै जना मान्छेले मात्रै पाइरहनुपर्ने छ र? काम कस्तो गरेको छ, त्यो नभनौं। पार्टीको पक्षमा एक शब्द कहिल्यै बोलेको होइन। पार्टीको हितमा एक शब्द बोलेको होइन। आन्दोलनको हितमा एक शब्द बोलेको होइन,' ओलीले भने, ‘अरू अरू ठाउँमा तमासा देखाइएको छ। त्यस्तो मान्छे एकाधले पाएन। स्वाभाविक हो नि। पालो गर्नु पर्दैन?’
एकाध मान्छेले टिकट नपाएकोप्रति सहानुभूति देखाउन जरूरी नरहेको ओलीले बताए।
‘के उहाँहरू बिना पार्लियामेन्ट नै नचल्ने हो र? यस्ता विषयमा अल्झेर नबस्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु,’ ओलीले भने, ‘कोही अवसरै अवसरले थिचिने, कोही अवसरको नजिक पनि पुग्ने नपाउने असमान र विभेदकारी व्यवहार एमालेमा हुँदैन।’
हेर्नुस् भिडिओ :