राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सांसद आफ्नो पार्टीले मात्रै नबेचेको दाबी गरेका छन्। शनिबार तिहारको अवसरमा काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै लिङ्देनले राप्रपाले सन्तुलन मिलाएर नै समानुपातिक बन्दसूची तयार गरेको उनले बताए।
‘राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै एउटा त्यस्तो पार्टी हो, जसले समानुपातिक पद कसैलाई बेचेको छैन। कसैलाई नातागोता भनेर राखेको छैन। नातागोताको आधारमा राखेको छैन। सबै प्रोफाइल पल्टाएर हेरे हुन्छ। कोही कसैको नातेदार भएको कारणले त्यहाँ परेको छैन,' लिङ्देनले भने, ‘कोही कसैको नजिक र टाढाको आधारमा परेको छैन। हामीले ८२ वर्षका पशुपतिशमेशर राणादेखि लिएर ३० वर्षका बिना लामा, कुमारी स्याङतानजस्ता सबैलाई सन्तुलन मिलाएर राखेका छौं।’
राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले राप्रपाले संसदमा ठूला पार्टीविरूद्ध खबरदारी गर्ने बताए। पार्टीलाई अधिकतम सिट दिलाउन सक्रियपूर्वक प्रचारमा लाग्न उनले आग्रह गरे।
‘कांग्रेस र कम्युनिष्टहरूले मुलुकलाई अब भ्रष्टाचार गरेर बिगार्न पाउँदैनन् किनकी अब हामी संसदमा गएर खबरदारी गर्छौं,’ उनले भने।
कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ठूला पार्टीका विकृति अन्त्यका लागि राप्रपालाई जिताउन आवश्यक रहेको बताए।
‘पार्टीमा आस्था राखेर तपाईंहरूले आफ्नो आस्था रहेको दललाई भोट हाल्दा तपाईंका छोराछोरी यो देशमै नबस्ने भए। तपाईंको जीवन परिवर्तन नै नहुने भयो, उर्जावान् नेतृत्वका लागि राप्रपालाई मत दिनुस्,’ मिश्रले भने ।