अर्थशास्त्री स्वार्णिम वाग्लेले गगन थापालाई चाँडै नै प्रधानमन्त्रीका रूपमा देख्न चाहेको बताएका छन्।
वाग्लेले शनिबार काठमाडौंमा युथ कांग्रेसले गरेको कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री थापालाई प्रधानमन्त्रीका रूपमा देख्न चाहेको बताए।
‘गगन थापा मेरो साथी मात्र होइनन्, उनी मेरो नेता पनि हुन्,’ वाग्लेले भने, ‘उहाँ यो देशको प्रधानमन्त्री चाँडै नै बन्नुपर्छ भन्ने मत राख्ने मान्छे हुँ।’
उनले काठमाडौं क्षेत्र नम्बर ४ र सिंगो देश विकासका लागि गगनको नेतृत्व आवश्यक रहेको पनि बताएका थिए। थापा काठमाडौं ४ मा उम्मेदवार छन्।
अर्थशास्त्री वाग्ले कांग्रेसको घोषणा पत्र निर्माण समितिमा पनि छन्। उनी पनि मंसिर ४ मा हुने चुनावका उम्मेदवार हुन चाहन्थे। चितवन १ बाट उनको नाम सिफारिस भए पनि कांग्रेसले वाग्लेलाई टिकट दिएन।
कांग्रेसले टिकट नदिएपछि वाग्लेलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकटको अफर गरेका थिए। यो कुरा वाग्लेले शनिबार यही कार्यक्रममा खुलाएका थिए।
ओलीले काठमाडौँ ७ बाट चुनाव लड्न प्रस्ताव गरे पनि आफूले अस्वीकार गरेको उनले बताए।
‘कांग्रेसबाट उम्मेदवार हुन खोजेको थिएँ। टिकट पाइनँ, एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर काठमाडौं ७ बाट उठ्न आग्रह गर्नुभएको थियो। हाम्रो उमेद्वार छैन, एमाले सहयोग गर्छ भन्नुभएको थियो’, वाग्लेले भनेका थिए।
टिकट नपाएपनि आफूले कांग्रेस नछोड्ने उनको भनाइ छ।
‘गगन थापा र विश्वप्रकाश शर्मालाई कसैले दिएर महामन्त्री हुनुभएको होइन। पार्टीभित्रै लडेर महामन्त्री हुनुभयो। पार्टीभित्रै लडेर अघि बढिन्छ भन्ने लाग्छ,’ उनले भने।