नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले भ्रष्टाचार निर्मूल पार्ने नागरिकको चाहना पूरा गर्नु नै आफ्नो पहिलो दायित्व रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सिंहले जतासुकै भ्रष्टाचार व्याप्त रहेको र सुशासन नभएको बताए।
‘जताततै भ्रष्टाचार व्याप्त छ। कहीँ सुशासन छैन। जहाँ जाऔं अस्तव्यस्त छ। अब यसलाई समाधान गर्न नसके झन् विकराल अवस्था आउँछ,’ उनले भने, ‘मुलुक निर्माणमा मेरो पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण नै हो। सुशासन दिलाउनु नै हो।’
उनले प्रशासनिक काम गर्दा नागरिकलाई झन्झटिलो हुने गरेको र समयमा नै काम नबन्ने गरेको बताए। उनले राजनीति अस्थिर हुँदा पनि यस्ता समस्या देखिएको बताए।
उनले विकास निर्माण तथा शिक्षा र स्वास्थ्यका क्षेत्रमा आफूले गर्दै आएका कामलाई थप बढाउने पनि बताएका थिए। खानेपानी, ट्राफिक जाम समस्यालाई न्युनिकरण गर्न काम भइरहेको पनि उनको भनाइ थियो।