निर्वाचन आचार संहिता उल्लंघनबारे आयोगले सोधेको स्पष्टीकरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जवाफ पेश गरेका छन्।
आयोगका प्राप्त भिडिओका आधारमा दुबै नेतालाई आचार संहिता उल्लंघनबारे स्पष्टीकरण सोधिएको थियो। उम्मेदवारी दर्ताका क्रममा प्रचण्डले पञ्जेबाजासहित पुगेको र माधव नेपालले कोणसभा गरेर मतदातालाई प्रलोभनमा पार्न खोजेको भन्दै आयोगले जवाफ माग गरेको थियो।
‘हामीलाई प्राप्त श्रव्यदृश्यका आधारमा दुबै नेतालाई आचार संहिता उल्लंघनमा स्पष्टीकरण सोधेका थियौं। उहाँहरूको स्पष्टीकरण प्राप्त भएको छ,’ आयोगका उपमहान्यायाधिवक्ता गुरु वाग्लेले भने।
स्पष्टीकरणमा प्रचण्डले पञ्चेबाजा बजेको थाहै नपाएको बताएका छन्।
‘बाजागाजासहित स्थानीय बासिन्दाको उपस्थितिबारे म र हाम्रो पार्टीको तर्फबाट बाजागाजा ल्याउन कुनै पनि किसिमको योजना, निर्देशन र अनुरोध नगरिएको व्यहोरा स्पष्ट गर्न चाहन्छु। बाजगाजाबारे मलाई जानकारीसमेत नभएको स्पष्ट गर्न चाहन्छु,’ उनले भनेका छन्।
समाजवादीका अध्यक्ष नेपालले रौतहटमा कोणसभा गरेर पैसाबिना नै टिकट र भिसा भएर विदेश जान सकिने बताएको भिडिओ सार्वजनिक भएको थियो।
नेता नेपालले आयोगमा स्पष्टीकरण दिँदै आफूले आयोगले भने अनुसारको कुनै अभिव्यक्ति नदिएको दाबी गरेका छन्।
‘निर्वाचनको सिलसिलामा मैले कुनै उम्मेदवार, मतदाता, निजहरूमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति, निर्वाचन अधिकृत, निर्वाचनमा संलग्न कुनै कर्मचारीलाई कुनै किसिमको प्रभाव पार्ने कार्य गरेको छैन। कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन काम गरेको छैन। पत्रमा भनिए जस्तो अभिव्यक्ति मैले दिएको छैन,’ अध्यक्ष नेपालले दिएको स्पष्टीकरणमा भनिएको छ।