नेपाल समाजवादी पार्टीले मंसिर ४ को चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको छ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष बाबुराम भट्टराईले घोषणा पत्र सार्वजनिक गरेका हुन्।
'सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि' नारासहित समाजवादी पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।
समाजवादी पार्टीका नेताहरू नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिय हतौडा लिएर प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा समानुपातिक र प्रत्यक्षतर्फ चुनाव लड्दैछन्।
समाजवादी पार्टीले प्रतिबद्धता पत्रमा १२ बाचालाई पनि समावेश गरेको छ।
सस्तो, भरपर्दो र सुधारिएको स्वास्थ्य सेवा सबैलाई, प्रविधि र व्यावहारिक सिपयुक्त शिक्षा सरकारी स्कुलमै, लगानीमैत्री वातावरणमा देशभित्रै नयाँ रोजगारी, स्थिर सरकार सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारलाई जरैबाट समाप्त गर्न पूर्ण समानुपातिक निर्वाचन, हरियो, सफा र खुला सहर, उद्यमीलाई देशभरि प्रोत्साहन, व्यावसायिक कृषिलाई प्राथमिकता, भौतिक पूर्वाधारमा विशेष पहल, सूचना प्रविधि र अनुसन्धानलाई उच्च प्राथमिकता, बिजुली नै प्रमुख ऊर्जा र महिला सुरक्षाको ग्यारेन्टी चुनावी घोषणा पत्रमा समावेश गरिएका छन्।
चुनावी घोषणा पत्रमा 'राइट टु रिजेक्ट र राइट टु रिकल' को व्यवस्थाबारे पनि उल्लेख गरिएको छ। निर्वाचन कानुनमा अस्वीकारको अधिकार 'राइट टु रिजेक्ट' र प्रत्याह्वानको अधिकार 'राइट टु रिकल' को व्यवस्था गरिने उल्लेख छ।