नेपाली कांग्रेसले चुनावी घोषणा पत्र (संकल्प पत्र) आज सार्वजनिक गर्ने भने पनि सार्वजनिक गरेन।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बिहानै विज्ञप्ति निकालेर घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको उल्लेख गरेका छन्।
कांग्रेसले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाबाट घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको थियो।
आइतबार अपरान्ह ५ बजे प्रधानमन्त्री देउवाले घोषणा पत्र सार्वजनिक गर्ने तयारी थियो। महामन्त्री गगन थापासहित पदाधिकारी पार्टी कार्यालयबाट र सभापति देउवा बालुवाटारबाट भर्चुअल रूपमा जोडिएर घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम बनेको थियो।
तर प्रधानमन्त्री देउवा सत्ता गठबन्धनको सुदूरपश्चिम र कर्णाली प्रदेश भेलाबाट समयमै काठमाडौं नफर्किएपछि कार्यक्रम आज बिहान १०:३० बजेसम्मका लागि स्थगित गरिएको थियो।
तर आज पनि कांग्रेसले घोषणा पत्र सार्वजनिक गरेन। कांग्रेसले अब तिहारपछि मात्रै घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
पार्टीका सहमहामन्त्री जीवन परियारले तिहारपछि मात्रै घोषणा पत्र सार्वजनिक गरिने सेतोपाटीलाई बताए।
‘आज बिहान संकल्प पत्र सार्वजनिक गर्ने तयारी थियो तर तिहारपछि मात्रै सार्वजनिक गर्ने कुरा भएको छ,’ उनले भने, ‘घोषणा पत्र छपाइ गरेर तिहारको भोलिपल्टतिर सार्वजनिक गर्ने हो।’
कांग्रेसले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि तयार पारेको घोषणा पत्रको हार्डकपी भने छापिसकेको छैन।
‘तिहारले छोप्यो, त्यसैले तिहारपछि घोषणा पत्र सार्वजनिक गर्छौं,’ उनले भने, ‘घोषणा पत्र लेख्ने काम सकिइसकेको छ, हार्डकपीका लागि प्रेसमा दिँदैछौं।’
कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा अर्थशास्त्री स्वर्णिम वाग्लेसहितलाई राखेर घोषणा पत्र बनाएको छ। पूरा गर्न नसकिने खालका कार्यक्रम चुनावी घोषणा पत्रमा नराख्ने पनि कांग्रेसले बताउँदै आएको छ।
तिहारको माहौलमा चुनावी घोषणा पत्रमा समावेश गरिएका विषयबस्तु प्रचारप्रसार गर्न पनि कठिनाइ हुने देखिएकोले कांग्रेसले आज घोषणा पत्र सार्वजनिक नगरी तिहारपछि मात्रै गर्ने तयारी गरेको छ।