सत्तारूढ गठबन्धनले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा चुनावका लागि आफ्ना आधिकारिक उम्मेदवार सार्वजनिक गरेको छ।
शुक्रबार सार्वजनिक भएको सूचीअनुसार काठमाडौं-१० सहित तीन क्षेत्रमा गठबन्धनमा रहेका दलहरूले मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन्।
नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नं ३ को उम्मेदवारी निष्क्रिय पारेको छ।
सत्ता गठबन्धनबाट जारी विज्ञप्तिमा काठमाडौं क्षेत्र नं ३ को उम्मेदवार कांग्रेसका सन्तोष चालिसे मात्रै रहेको उल्लेख छ।
सो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका बद्री चापगाईले पनि उम्मेदवारी दिएका छन् ।निर्वाचन आयोगको सूचीमा बजगाई रहे पनि माओवादीले उम्मेदवारी निष्क्रिय पारेको छ। सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी निष्क्रिय पार्ने जिम्मा लिएको स्रोतले बतायो।
काठमाडौं क्षेत्र नं १० मा भने मित्रवत् प्रतिस्पर्धा हुने भएको छ। सो क्षेत्रमा कांग्रेसका राजन केसी र नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखेले मित्रवत् प्रतिस्पर्धा गर्ने भनिएको छ। त्यस्तै काठमाडौं क्षेत्र नं ३ को प्रदेश ख मा नेपाली कांग्रेसका विमल ठकुरी र नेकपा माओवादी केन्द्रका महेश्वर फुयाल छन्। त्यस्तै काठमाडौं क्षेत्र नं ६ को ख मा पनि सत्ता गठबन्धनका दुई उमेदवार छन्। नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिना र नेकपा माओवादी केन्द्रका प्रकाश फुयाल छन्।
काठमाडौं-१० को प्रदेश क मा पनि नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार छन्। कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दीलिप महर्जन उम्मेदवार छन्।
काठमाडौं क्षेत्र नं ५ को प्रदेश ख मा नेपाली कांग्रेसका श्यामबहादुर खड्का र नेकपा एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठ उमेदवार छन्।
यस्तै सर्लाही- २ र धनुषा-२ मा पनि सत्ता गठबन्धन दलहरूले मित्रवत् प्रतिस्पर्धा गर्न लागेका छन्।
धनुषा-२ माओवादीको चुनाव चिन्हमा लडेका नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादवलाई गठबन्धनले आधिकारिक उम्मेदवार भनेको छ भने लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोसँग त्यहाँ मित्रवत् प्रतिस्पर्धा हुने भएको छ।
धनुषा-२ मा कांग्रेसका रामकृष्ण यादव र नेकपा (एकीकृत समाजवादी) का रामचन्द्र झाबीच पनि मित्रवत् प्रतिस्पर्धा हुने भएको छ।