निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नं.४ का उम्मेदवार गगन थापालाई पुनः स्पष्टीकरण सोधेको छ।
आयोगले थापालाई कात्तिक ८ गते डेंगीविरूद्ध अभियान किन चलाएको भनेर स्पष्टीकरण सोधेको थियो। अझै पनि त्यस्तो अभियान चलाउने भनेर वक्तव्य दिएको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले उनलाई पुन: स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नु पर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ।
निर्वाचन आचारसंहिता, २०७९को दफा ५ को खण्ड (ख) मा सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा ‘वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने तर सरूवा रोगको महामारी वा कुनै प्राकृतिक विपद वा काबुबाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था छ।
तर परिच्छेद–४, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत उल्लेखित दफा ५ बमोजिमको व्यवस्था छैन।
यदि डेंगी महामारीको नियन्त्रणका लागि कुनै नयाँ कार्यक्रम ल्याउन सरकारले आवश्यक महसुस गरेमा त्यस्तो कार्यक्रम आयोगको सहमतिमा ल्याउन सक्ने आयोगले जनाएको छ। तर थापा आफैंले गर्न पाउने कानुनी व्यवस्था नभएको आयोगले स्पष्ट पारेको छ।
फेरि पनि मतदातालाई आचारसंहिता विपरीत मतदातालाई प्रभावित गरेको हुँदा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।
‘निर्वाचनको सम्मुखमा तपाईंले अभियान चलाउँछु भने जस्तै अन्य उम्मेदवारले पनि वक्तव्य दिँदै हिँडेमा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रतिकूल असर पर्छ, पर्दैन ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भई सकेको अवस्थामा विपद् तथा महामारी आइपरेमा सरकारले आयोगको सहमतिमा कार्यक्रमहरू ल्याउन सक्ने नै व्यवस्था रहेको हुँदा तपाईं किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लंघन गर्न उद्यत हुनुभएको हो ?,’ आयोगले थापासँग सोधेको छ।
उनलाई आयोगले किन कारबाही नगर्ने भनेर पनि प्रश्न गरेको छ।