नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ।
शनिबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा पत्र सार्वजनिक गरेका हुन्।
महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक भएको घोषणा पत्रको मूल सार निरन्तरतामा नवीनता भएको बताएका छन्।
‘यसको संक्षिप्त थिममा हामीले निरन्तरतामा नवीनता राखेका छौं। नेपाली कांग्रेस पार्टी ७० वर्षदेखि निरन्तर छ,’ उनले भने, ‘नेपालको हरेक राजनीतिक आन्दोलनको नेतृत्वमा छ।’
नेपाली कांग्रेसले अबको समयमा नवीन ढंगले प्रस्तुत हुने उनले बताए।
‘संविधान रक्षा, स्थिरता र समुन्नतिको आधार नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’लाई नारा बनाएको छ।
यस्तै सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिले हरेक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्ने पनि संकल्प गरिने महामन्त्री शर्माले बताए।
‘हामी संकल्प गर्दछौं कि सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिले हरेक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्नेछ र सार्वजनिक गर्न बाध्यकारी कानुन हामी निर्माण गर्नेछौं,’ उनले भने।
कुनै पनि नागरिकले जिल्ला प्रशासन कार्यालय, सिंहदरबार लगायत ठाउँमा जाँदा भोलि भनेर झन्झटिलो अवस्था व्यहोरिरहनुपरेको उनले बताए। सरकारी कार्यालयमा हुने यस्ता झन्झटलाई पनि अन्त्य गरिने उनले बताए।