नेपाली कांग्रेसले प्रतिनिधि सभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम नचाल्ने प्रतिज्ञा गरेको छ।
शनिबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा पत्र सार्वजनिक गरेका हुन्। उक्त घोषणापत्रमा कांग्रेसले प्रतिनिधि सभालाई विघटन नगर्ने प्रतिज्ञा गरेको हो।
‘दलहरूको आन्तरिक विवाद वा फरक दलहरूबीच उत्पन्न हुन सक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधि सभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने छैनौं,’ घोषणा पत्रमा भनिएको छ।
सरकारी सम्पत्तिको दुरूपयोग तथा प्राकृतिक स्रोत-साधनको दोहन नगर्ने र गर्न पनि नदिने प्रतिज्ञा कांग्रेसले गरेको छ।
यस्तै, सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्ययनहरूलाई अद्यावधिक गरी उपादेयता नदेखिएका विभाग र सार्वजनिक संस्थाहरू खारेज गर्ने पनि कांग्रेसको प्रतिज्ञा छ।
कानुनको सीमाभन्दा बाहिर गएर आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने घोषणा पत्रमा उल्लेख छ। कांग्रेसले सार्वजनिक संस्थालाई दलीय हस्तक्षेपबाट मुक्त गर्ने पनि प्रतिज्ञा गरेको छ।
‘सार्वजनिक संस्थाहरूलाई दलीय हस्तक्षेपबाट मुक्त गर्दै सार्वजनिक पदहरूमा नियुक्ति गर्दा विषयगत योग्यता र व्यक्तिको ट्र्याक रेकर्ड हेरेर निश्चित मापदण्डका आधारमा गर्नेछौं,’ कांग्रेसले भनेको छ।
सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिले हरेक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्ने पनि संकल्प गरिने महामन्त्री विश्वप्रकाश शर्माले बताए।
‘हामी संकल्प गर्दछौं कि सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिले हरेक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्नेछ र सार्वजनिक गर्न बाध्यकारी कानुन हामी निर्माण गर्नेछौं,’ उनले भने।
कुनै पनि नागरिकले जिल्ला प्रशासन कार्यालय, सिंहदरबार लगायत ठाउँमा जाँदा भोलि भनेर झन्झटिलो अवस्था व्यहोरिरहनुपरेको उनले बताए। सरकारी कार्यालयमा हुने यस्ता झन्झटलाई पनि अन्त्य गरिने उनले बताए।
महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक भएको घोषणा पत्रको मूल सार निरन्तरतामा नवीनता भएको बताएका छन्।
‘यसको संक्षिप्त थिममा हामीले निरन्तरतामा नवीनता राखेका छौं। नेपाली कांग्रेस पार्टी ७० वर्षदेखि निरन्तर छ,’ उनले भने, ‘नेपालको हरेक राजनीतिक आन्दोलनको नेतृत्वमा छ।’
नेपाली कांग्रेसले अबको समयमा नवीन ढंगले प्रस्तुत हुने उनले बताए।
‘संविधान रक्षा, स्थिरता र समुन्नतिको आधार नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’लाई नारा बनाएको छ।