नेपाली कांग्रेसका नेता स्वर्णिम वाग्लेले सार्वजनिक भएको घोषणा पत्र यथार्थपरक भएको बताएका छन्।
शनिबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेका हुन्। सार्वजनिक भएको घोषणा पत्रबारे सम्बोधन गर्दै वाग्लेले यथार्थपरक भएको बताएका हुन्।
‘घोषणा पत्र यथार्थपरक छ। घोषणा पत्रमा मनगढन्ते, हावादारी कुराहरू उल्लेख गर्ने गरिएको छ भन्ने दलहरूलाई आरोप लाग्ने गरेको छ,’ उनले भने,‘हामीले यसपालि असाध्यै यथार्थपरक, वास्तविकताप्रति बलियो चेत भएको घोषणा पत्र यहाँहरू समक्ष लिएर आएका छौं।’
उक्त घोषणा पत्रमा स्वास्थ्य क्षेत्रमा कांग्रेसले ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई नि:शुल्क उपचारको व्यवस्था गर्ने उल्लेख गरेको छ।
पाँच वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा र बीमामार्फत् गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने कांग्रेसले प्रतिबद्धता जनाएको छ। ६५ वर्ष माथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयं सेविकालाई नि:शुल्क बीमा गरिने घोषणा पत्रमा उल्लेख छ।
यस्तै, सबै महिलालाई नि:शुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था पनि गरिने जनाएको छ।
हरेक स्थानीय तहमा सुविधा सम्पन्न एम्बुलेन्स सेवा व्यवस्था गरी राष्ट्रिय एम्बुलेन्स सञ्जाल बनाउने कांग्रेसको प्रतिबद्धता छ।
मदिरा र सुर्तीजन्य पदार्थको उपभोग, बिक्री वितरणलाई नियन्त्रण र नियमन गर्न करको दरमा वृद्धि गरिने घोषणा पत्रमा उल्लेख छ।
प्रतिनिधि सभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम नचाल्ने कांग्रेसले प्रतिज्ञा गरेको छ।
त्यसैगरी पाँच वर्षमा साढे १२ लाखलाई रोजगारी दिने घोषणा पत्रमा उल्लेख गरेको छ। न्यूनतम वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने पनि घोषणा पत्रमा उल्लेख छ।
अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक उद्योगको अंश ५.६ प्रतिशतबाट ९ प्रतिशतमा पुर्याइने कांग्रेसले जनाएको छ।
विदेशबाट फर्किएका युवालाई ‘अबको जीवन स्वदेश’ मै नीति अन्तर्गत विदेशमा हासिल गरेका सीप र आर्जन गरेको पुँजीको आधारमा स्थानीय तहसँग सहकार्य गरी उद्यममा संलग्न गराउन प्रेरणा र प्रोत्साहनको कार्ययोजना बनाइने प्रतिबद्धता जनाएको छ।
भिडिओ: