ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी डा. तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि आयोगको निर्णयविरूद्ध कार्की सर्वोच्च अदालत जाने भएकी छन्।
निर्वाचन आयोगले शनिबार कार्की उम्मेदवार हुन अयोग्य रहेको विज्ञप्ति निकालेको थियो। उम्मेदवारी खारेजविरूद्ध उनी सर्वोच्च अदालत खुलेपछि रिट लिएर जाने भएकी छन्।
'उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरूद्ध म सर्वोच्च जान्छु,' उनले भनिन्।
सार्वजनिक पदमा बसेर लाभ लिइरहेका व्यक्तिले राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो।
कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन्। उनी काउन्सिलको बैठक तथा अनुगमनमा जाँदा भत्ता लिएको पाइएकोले पनि आयोग स्रोतको भनाइ छ।
तर कार्कीले भने काउन्सिलमा निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा भत्ता मात्रै पाउने र निर्वाचित सदस्य भएकोले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने धारणा पाइएको उल्लेख गर्दै आएकी छन्।
आफूले गत भदौ २८ मा पत्र लेखेर काउन्सिलको सदस्य पद लाभको पद हो वा होइन भन्नेबारे आयोगलाई सोधेको पनि उनले उल्लेख गरेकी छन्। तर यो पत्रमा आयोगले कार्कीलाई जवाफ दिएको थिएन।
हेर्नुस् पत्र:
‘समय सकिए पछिको उजुरीलाई आधार मानेर आफैँले समयमा प्रष्ट नपारेको निवेदनका बारेमा नखुली अहिले आएर सोही बिषयमा निर्णय गर्नुमा निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका गर्दछु। जसरी उजुरी समयपछि आए पनि निर्णय गरियो, त्यसरी नै मैले उम्मेदवारी दर्ता गर्नुभन्दा निकै पहिले दिएको निवेदनउपर पनि निर्णय गर्नु पर्थ्यो। यहाँनेर पनि निर्वाचन आयोगको निष्पक्षतामा शंका उब्जिन्छ। स्पष्टीकरण दर्ता गर्दा सर्वोच्च अदालतको नजिर पनि समावेश गरिएकोमा सोप्रति कुनै अभिलेखिकरणसम्म नगरी निर्णय गर्नु थप शंकास्पद हुन आउँछ,’ उनले भनेकी छन्।
कार्कीको उम्मेदवारी खारेज गर्नुअघि आयोगले उनी र मेडिकल काउन्सिलसँग स्पष्टीकरण समेत सोधेको थियो।
अब उनको ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिन पाउने छैन। अदालत भने गएर मुद्दा लड्न सकिनेछ। त्यसैकारण कार्की सर्वोच्च अदालत जाने भएकी छन्।
हेर्नुस् आयोगको विज्ञप्ति: