नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गृहजिल्ला गोरखामा पुगेर भोट माग्दै क्षेत्र नम्बर २ ले भविष्यमा प्रधानमन्त्री र मुख्यमन्त्री पाउने बताएका छन्।
गोरखा २ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश सभा क्षेत्र (ख) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे उम्मेदवार छन्।
उनले गोरखाकै विकासका लागि प्रधानमन्त्री र मुख्यमन्त्री हुने उम्मेदवार गोरखा २ मा रहेकोले यो राम्रो भएको पनि बताएका थिए।
क्षेत्र नम्बर २ मै आज बिहान भएको चुनावी कोण सभालाई सम्बोधन गर्दै भट्टराईले भने, ‘अन्यथा नमान्नुहोला, प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्र पाण्डे भोलिको मुख्यमन्त्री हो। यही क्षेत्रले प्रधानमन्त्री र मुख्यमन्त्री पाइसकेपछि विकासका सपना कसरी पूरा नहोलान् र?’
प्रधानमन्त्री र मुख्यमन्त्री हुने उम्मेदवारलाई बिजयी गराउन पनि उनले आग्रह गरेका थिए। भट्टराई शनिबारदेखि नै गोरखामा प्रचण्डलगायत सत्ता गठबन्धनका उम्मेदवारसँगै चुनावी प्रचारमा छन्।
गोरखा २ मा २०७४ मा तत्कालीन नयाँ शक्तिबाट बाबुराम भट्टराई निर्वाचित भएका थिए। अहिले भट्टराई चुनाव नलडी उक्त क्षेत्रमा प्रचण्डलाई उम्मेदवार छाडेका थिए। भट्टराई नेतृत्वको समाजवादी पार्टीका उम्मेदवार माओवादीकै चुनाव चिन्ह हँसिया हतौडामा चुनाव लड्दैछन्।