नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीका पूर्वउपसभापति विजयकुमार गच्छदारलाई पार्टीले टिकट दिएकोमा ग्लानी नभएको प्रतिक्रिया दिएका छन्।
कांग्रेसले ल्याएको संकल्प पत्रबारे आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा सहमहामन्त्री परियारले गच्छदारलाई उम्मेदवार बनाएकोमा ग्लानी नभएको र गच्छदार जितेर आउने बताए।
कांग्रेसको संकल्प पत्रको प्रतिज्ञामा सार्वजनिक पद धारण गरेको कुनै व्यक्ति भ्रष्टाचार, सामाजिक विचलन, अनियमिततामा परे तत्काल पदमुक्त वा छानबिन गरिने उल्लेख छ।
विगतमा भएका यस्ता क्रियाकलापमा जोडिएका नेताका हकमा कांग्रेसले छानबिन गरेको थिएन। यसअघि पार्टी उपसभापति रहेका गच्छदार बालुवाटार जग्गा प्रकरणमा जोडिएका थिए।
सरकारी जग्गा व्यक्तिका नाममा नामसारी प्रकरणमा गच्छदारलाई अख्तियारले भ्रष्टाचार मुद्दा लगाएको थियो। यसबारे सहमहामन्त्री परियारले भने, ‘तत्कालीन नेकपाको उन्मत्त सरकारले कांग्रेसका नेतालाई छानिछानि राजनीतिक प्रतिसोध साँध्ने तवरले केही मान्छेलाई भ्रष्टाचार मुद्दा अघि बढाएको थियो। तत्कालीन मन्त्री रहेका गच्छदारलाई मुद्दा लगाउने तर त्यही मन्त्रिपरिषदका अरूलाई मुद्दा नलगाउने? यो राजनीतिक प्रतिशोध रहेको ठहर कांग्रेसले त्यसबेलै केन्द्रीय समितिबाट गरेको थियो,’ उनले भने।
गच्छदार दोषी ठहर नभएकोले पार्टीले उनलाई सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवार बनाएको सहमहामन्त्री परियारको भनाइ छ। ‘उहाँ दोषी ठहर हुनुभएको छैन। सम्भवत उहाँ चुनाव जितेर पनि आउनुहुन्छ,’ उनले भने।