नेपाली कांग्रेसको चुनावी संकल्प पत्र (घोषणा पत्र) तयारी समितिका मस्यौदाकारसमेत रहेका अर्थशास्त्री स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) ६५ वर्ष पुगेका नागरिकलाई दिने इच्छा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाकै भएकोले संकल्प पत्रमा समावेश गरिएको बताएका छन्।
सामाजिक सुरक्षा भत्ता अहिले ६८ वर्ष उमेर पुगेकाले पाउँछन्। सभापति देउवाले सामाजिक सुरक्षा भत्ता ६५ वर्ष पुगेका नागरिकलाई दिनुपर्ने इच्छा गर्दै आएकोले त्यो योजना संकल्प पत्रमा समावेश गरिएको पनि वाग्लेको भनाइ छ।
सामाजिक सुरक्षा भत्ता धेरैलाई दिनुपर्दा राज्य कोषमा भार परेको भन्दै आलोचनासमेत हुने गरेका छन्।
‘यो कांग्रेसको संकल्प पत्र हो, मेरो व्यक्तिगत होइन,’ पार्टी कार्यालय सानेपामा आज भएको पत्रकार सम्मेलनमा वाग्लेले भने, ‘सभापति शेरबहादुर देउवा हुनुहुन्छ। उहाँमा ६५ वर्षमै सामाजिक सुरक्षा भत्ता दिनुपर्छ भन्ने प्रगाढ इच्छा छ। त्यहीअनुसार संकल्प पत्रमा यो विषय उल्लेख गरिएको छ।’
उनले अब कांग्रेसको नेतृत्वमा सरकार बनेमा र अर्थतन्त्रमा नै फोकस गरेर काम अघि बढेमा राज्यलाई धेरै भार नपर्ने गरी पाँच वर्षभित्रमा ६५ वर्षमै सामाजिक सुरक्षा भत्ता दिन सकिने पनि बताएका थिए। सुशासन र आर्थिक विकासमा अब बन्ने सरकारले ध्यान दिने पनि उनको भनाइ थियो।
कांग्रेस केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले जे जनतामा प्रण गरिएको छ त्यो पूरा गर्ने गरी घोषणा पत्र ल्याइएको र हावाका कुराभन्दा तथ्यपरक कुरा घोषणा पत्रमा उल्लेख गरिएको बताए। उनले सुशासन र आर्थिक विकासको जग हाल्ने काम कांग्रेसले गर्ने पनि बताएका थिए।
कांग्रेसले कोखदेखि शोकसम्म भन्दै लोकप्रिय कार्यक्रमलाई संकल्पपत्रमा समावेश गरेको छ। जसमा ६५ वर्ष माथिका सबै जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य बीमा, ६५ वर्ष माथिका सबै जेष्ठ नागरिकलाई जेष्ठ नागरिक भत्ता, ७३ वर्षमाथिका सबै नागरिकको नि:शुल्क उपचारको एजेन्डा अघि सारेको छ।