मंसिर ४ मा हुने चुनावका लागि गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेस बिपीबाट उम्मेदवारी दिएका टीकादत्त पोखरेल आज १०० वर्ष पुगेका छन्।
गत असोज २३ मा उम्मेदवारी दर्ता गर्दा उनी ९९ वर्षका थिए।
टीकादत्त १०० वर्ष पुगेको अवसरमा उनको घर गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ माझगाउँबेशीमा आज उनलाई जन्मदिनको शुभकामना दिन गाउँलेहरू जमघट भएका थिए।
गोरखा २ मा उम्मेदवार रहेका टीकादत्त १०० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा पत्रकारहरू पनि पुगेका थिए। टीकादत्तलाई पत्रकारहरूले सत्ता गठबन्धनबाट गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उम्मेदवार छन्, के तपाईंले चुनाव जित्नुहुन्छ? भनेर सोधेका थिए।
आफू जनताको हितका लागि उम्मेदवार भएको बताउँदै टीकादत्तले भने, ‘म उहाँ (प्रचण्ड) लाई सजिलै चुनाव जित्छु, जनताले उहाँ (प्रचण्ड) लाई पनि चिनेका छन्, बुझेका छन्।’ उनले २००७ सालदेखि आफूले जनताका लागि लड्दै आएको पनि बताएका थिए।
टीकादत्त लामो समय कांग्रेसमा सक्रिय रहेका थिए। ३ वर्षअघि कांग्रेस छाडेर उनी नेपाली कांग्रेस बिपीमा सक्रिय छन्।
उनले आफूले चुनाव जितेमा नेपाली जनतालाई अधिकार दिलाउने पनि बताएका थिए।