नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन्।
मुलुकमा राजनीतिक स्थायित्व कायम गरेर बाँकी रहेका कामहरू गर्नका लागि कांग्रेस नेतृत्वकै सरकारको आवश्यकता रहेको उनले बताए।
बानेश्वरमा आज बिहान भएको एक कार्यक्रममा बोल्दै उनले जनताको जीवनस्तरमा परिवर्तन आउन नसकेको पनि बताएका थिए।
‘राजनीति अस्थिर हुँदा जनताले चाहेको जस्तो जीवनस्तरमा परिवर्तन आउन सकेको छैन,’ सिंहले भने, ‘अस्थिर राजनीतिले सुशासन हुन सकेन। भ्रष्टाचारले सीमा नाघेको छ। प्रशासनिक निकाय पनि सिष्टममा चल्न सकेको छैन।’
उनले भ्रष्टाचार अन्त्यका लागि काम गर्नुपर्ने पनि बताए।
उनले विधिको शासन सञ्चालनका लागि कांग्रेसका उम्मेदवारका पक्षमा मतदान गर्न पनि आग्रह गरेका थिए।
संवैधानिक संकट लगायतमा कांग्रेसले मुलुकलाई निकास दिएको उल्लेख गर्दै उनले जनताको चाहनाअनुसार विकास निर्माणका काम पनि पूरा गर्नुपर्ने बताएका छन्।