निर्वाचन आयोगमा केही उजुरीहरू उम्मेदवारलाई फसाउने नियतका साथ आएको पाइएको छ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरीहरू अरूलाई फसाएर फाइदा लिने गरी झूटा विवरणहरूसहित आएको बताएका हुन्।
सोमबार अपरान्ह न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले आयोगमा सोसम्बन्धी १५० वटा उजुरी रहेको र करिब ५० वटा उजुरी भने कारबाहीका लागि योग्य रहेको स्पष्ट पारे।
निर्वाचन आयुक्त भण्डारीले विगतको निर्वाचनहरूमा भन्दा अहिले हुन गइरहेको निर्वाचनमा आचारसंहिता उल्लंघनको घटना कम देखिएको समेत बताए।
उनले भने, ‘निर्वाचन आचारसंहितामा धेरै उजुरीहरू परे, निर्वाचनको सन्दर्भमा आचारसंहिता उल्लंघन भइरहेको छ भन्ने छ। हामीले तुलनात्मक रूपमा विगतका निर्वाचन र अहिले भइरहेको र गत स्थानीय तहको निर्वाचन, तीन वटै निर्वाचनलाई समष्टिगत मूल्यांकन गरिहेरेका छौं। तुलनात्मक रूपमा भन्नुपर्दा योभन्दा अघिका निर्वाचनमा जुन अनुपातमा आचारसंहिता उल्लंघन हुन्थ्यो। सो अनुपातमा अहिलेको निर्वाचनमा आचारसंहिता उल्लंघनको घटना कम भन्ने आयोगको रेकर्डमा देखिन्छन्। किन भयो भने सुरूदेखि नै आचारसंहिताको विषयमा आयोग र दल संयुक्त रूपमा छलफल गर्दा कडाइका साथ आचारसंहिता परिपालन गर्नुपर्छ भनेर राजनीतिक दलहरूबाट पनि सुझाव आए।’
उनले थप अगाडि भने, ‘त्यो सुझावलाई कार्यान्वयन गर्न हामी पनि कडाइका साथ प्रस्तुत हुन्छौं है भनेर आयोगले पनि प्रतिबद्धता जनाएको अवस्था हो। अहिले त्यो हुँदाहुँदै पनि १५० भन्दा बढी उजुरीहरू छन्, आचारसंहिता उल्लंघन भएका। कतिपय उजुरीहरू सत्यतामा आधारित छन्। कतिपय उजुरीहरू अरूलाई फसाएर फाइदा लिने प्रयोजनका लागि झूटा विवरणका उजुरीहरू पनि छन्। त्यसो भएकाले आयोगले ती उजुरीउपर पहिला के हो तपाईंको तथ्यगत भनाइ भनेर उहाँलाई आफ्नो स्पष्टीकरण पेस गर्ने मौका दिएको हो।’
निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको उल्लंघनको घटनाको उजुरीमाथि छानबिन गर्ने क्रम जारी रहेको पनि जनाएको छ।
आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ।
निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिने गरी अनुगमनको आवश्यक व्यवस्था मिलाइएको पटक/पटक दोहोर्याए।