सर्लाही क्षेत्र नम्बर ४ मा मुख्यगरी दुई गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नागेन्द्र कुमार राय र जसपाबाट राकेशकुमार मिश्रबीच मुख्य रूपमा प्रतिस्पर्धा हुने देखिएको छ।
कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपाको समर्थन कांग्रेसका नागेन्द्रलाई छ भने जसपाका राकेशकुमारलाई एमालेले पनि साझा उम्मेदवार बनाएको छ।
सर्लाही ४ मै राप्रपाबाट महेश महतो र जनमत पार्टीबाट रामबाबु राय उम्मेदवार छन्। यहाँ अरू विभिन्न पार्टीबाट र स्वतन्त्रहरूले पनि उम्मेदवारी दिएका छन्।
यहाँ नेपाली कांग्रेसबाट २०७४ मा चुनाव जितेका अमरेशकुमार सिंह पनि स्वतन्त्र उम्मेदवार छन्। यही क्षेत्रमा नेकपा माओवादी केन्द्रनिकट २६ वर्षकी मधुमालाकुमारी यादव पनि स्वतन्त्र उम्मेदवार छिन्। उनी माओवादीका नेता शिवपुजन राय यादवकी छोरी हुन्।
शिवपुजन २०७४ को चुनावमा माओवादीबाट उम्मेदवार थिए भने उनको उम्मेदवारी खारेज भएको थियो। उनी रातो राहदानी दुरूपयोगमा मुछिएपछि उनको उम्मेदवारी खारेज भएको थियो। शिवपुजन छोरीको चुनाव प्रचारप्रसारमा खटिएका छन्।
मधुमालाले भने आफू स्वतन्त्र ढंगले उम्मेदवार बनेको र युवाहरू राजनीतिमा आउनुपर्ने उल्लेख गर्दै आएकी छन्। उनी स्वास्थ्य क्षेत्रमा काम गर्थिन्।
शिवपुजनको परिवार नै राजनीतिमा छ। उनकी श्रीमती माओवादीबाट समानुपतिकतर्फ उम्मेदवार छिन् भने छोरा राजाबाबु यादव माओवादीबाटै रामनगर गाउँपालिका अध्यक्ष छन्।
यस्तै सर्लाही ४ मा कांग्रेसबाट टिकट नपाएपछि निवर्तमान सांसद अमरेशकुमार सिंह पनि स्वतन्त्र उम्मेदवार बनेका छन्। सिंहको नाम कांग्रेस सर्लाहीले उम्मेदवारका रूपमा सिफारिस गरेको थिएन। यहाँ कांग्रेस महामन्त्री गगन थापाको नाम एकल सिफारिस भएको थियो।
गगन काठमाडौं ४ मा उठेपछि नागेन्द्र रायलाई सर्लाही ४ मा उम्मेदवार बनाएको थियो, कांग्रेसले। सिंह भने कांग्रेस महाधिवेशनअघि महाधिवेशन प्रतिनिधिमा पनि पराजित भएका थिए। उनलाई कांग्रेस सर्लाहीले स्थानीय चुनावमा आधिकारिक उम्मेदवार हराउन लागेको भन्दै अनुशासनको कारबाहीसमेत गरेको थियो।
२०७४ मा पनि आफूले चुनाव जितेको र आफू नै यस क्षेत्रमा लोकप्रिय रहेकोले यसपालि पनि चुनाव जित्ने दाबीसहित सिंहले चुनावी प्रचार गरिरहेका छन्। उनले अबको राजनीति कुनै वाद, तन्त्र विरूद्ध वा प्राप्तिका लागि भन्दा पनि गरिबी, अशिक्षा, भ्रष्टाचार, बेथिती, अन्याय र असमानता तथा अत्याचारविरूद्ध हुनुपर्ने उल्लेख गर्दै आएका छन्। यो क्षेत्रमा सिंहसहित ९ जना स्वतन्त्र उम्मेदवार छन्।
गत वैशाख ३० मा भएको स्थानीय तह चुनावको मत हेर्दा यहाँ कांग्रेस नेतृत्वको सत्ता गठबन्धन अगाडि छ।
स्थानीय चुनावमा वडाध्यक्षहरूले ल्याएको मत हेर्दा एमाले नेतृत्वमा जसपासमेत रहेको गठबन्धनका पक्षमा १८ हजार ८ सय मत देखिन्छ। तर कांग्रेस-माओवादी-एकीकृत समाजवादी र लोसपासहित सत्ता गठबन्धनका पक्षमा ६१ हजार ७ सय ११ मत पुग्छ। दुई गठबन्धनका उम्मेदवारबीच मुख्य रूपमा प्रतिस्पर्धा हुने देखिए पनि स्वतन्त्र उठेका अमरेशकुमार र मधुमाला पनि राम्रो तयारीसाथ चुनावी प्रतिस्पर्धामा उत्रिएकोले यस क्षेत्रको चुनाव रोचक बनेको छ।
सर्लाही ४ को प्रदेश सभा क्षेत्र (क) मा कांग्रेसका वीरेन्द्रप्रसाद सिंह, नेकपा एमालेबाट रामबाबु राय, जनमत पार्टीबाट प्रमोद कुमार रायलगायत उम्मेदवार छन्। अन्य विभिन्न पार्टी र स्वतन्त्रबाट पनि यो क्षेत्रमा उम्मेदवार छन्।
प्रदेश सभा क्षेत्र (ख) मा जसपाबाट उदयकान्त मिश्र, माओवादीबाट फकिरा महतो, जनमत पार्टीबाट सञ्जयकुमार सिंह उम्मेदवार छन्। अन्य विभिन्न पार्टी र स्वतन्त्रबाट पनि यो क्षेत्रमा उम्मेदवार छन्।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता नागेन्द्रले आफूहरूको माहौल राम्रो रहेको बताए।
‘हामी चुनावी घरदैलो गरिरहेका छौं। माहौल राम्रो छ,’ उनले भने, ‘स्वतन्त्र उठेका अमरेशकुमारले धरौटी जोगाउन सक्दैनन्, शिवपुजनलाई पो मानिसले चिनेका थिए, छोरी स्वतन्त्र उठेकी छन्, जनतामा घुलमिल छैनन्।’
मधुमालाले भने महिलाविरूद्ध हुने हरेक प्रकारका हिंसाविरूद्ध, गरिबीविरूद्ध संघर्षका लागि आफूले उम्मेदवारी दिएको बताउने गरेकी छन्।
जसपाबाट प्रतिनिधि सभा उम्मेदवार रहेका राकेशले किसानका मुद्दा उठाउँदै आएका छन्। किसानका मुद्दामा साथ दिँदै आएकोले त्यही बलमा चुनाव जित्ने दाबीसमेत उनले गर्ने गरेका छन्।
सर्लाही ४ को समृद्धिका लागि जनताका लागि काम गर्न सक्ने नेता मंसिर ४ मा निर्वाचित गर्नुपर्ने पनि उनी बताउँछन्।