नेकपा (एमाले) ले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ।
होटल याक एन्ड यतिमा मंगलबार सार्वजनिक गरिएको घोषणापत्रमा एमालेले नागरिकताको विषय पनि समेटेको छ।
विभिन्न २० वटा ग्यारेन्टी समावेश गरिएको घोषणापत्रमा ग्यारेन्टी नम्बर २ मा भनिएको छ- नागरिकता: नेपालीलाई मात्र।
‘हाम्रा काम राष्ट्रिय गौरव बढाउन र सबै नागरिकको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यक्रममा केन्द्रित हुनेछन्। सरकार गठन भएको एक महिनाभित्र वंशजका आधारमा नागरिकता दिने र ६ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गरिनेछ,’ घोषणापत्रमा भनिएको छ।
पछिल्लो समय सरकारले ल्याएको नागरिकतासम्बन्धी विधेयकको एमालेले विरोध गरेको थियो। एमालेको विरोधका बाबजुद् विधेयक दुई पटक संसदबाट पारित भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन्।