मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरु प्रचारप्रसारमा जुटिसकेका छन्। तर यो निर्वाचनमा केही रोचक र रमाइला परिदृश्यहरु देखिएका छन्। आज हामी तपाईंहरूलाई यस्तै दृश्यहरू देखाउँदैछौं।
१. श्रीमान-श्रीमती नै उम्मेदवार
राजनीतिक दलहरूभित्र निर्वाचनमा उम्मेदवार हुन नपाएकोमा थुप्रै नेताहरू असन्तुष्ट छन्। तर केही उम्मेदवारका दम्पती नै यसपटक चुनाव लडिरहेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट चुनाव लड्दैछन् भने उनकी श्रीमती आरजु राणा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ उम्मेद्वार छिन्।
त्यस्तै, गृहमन्त्री बालकृष्ण खाण रूपन्देही ३ बाट निर्वाचन लड्दैछन् भने उनकी श्रीमती मञ्जु खाण नेपाली कांग्रेसको समानुपातिकतर्फ उम्मेदवार छिन्।
नेकपा माओवादी केन्द्रका वर्षमान पुन रोल्पाबाट र उनकी श्रीमती पूर्वसभामुख ओनसरी घर्ती पनि काठमाडौं–२ बाट चुनाव लड्दैछन्।
शिक्षामन्त्री समेत रहेका माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल बाग्लुङ २ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् भने उनकी पत्नी बलावती शर्मा प्रतिनिधि सभाकै लागि समानुपातिक तर्फको सूचीमा छिन्।
नेकपा एमालेका नेता रघुवीर महासेठ र जुलीकुमारी महतो पनि दम्पती हुन्। दुवै यसपटक प्रत्यक्ष निर्वाचन लड्दैछन्। रघुवीर धनुषा क्षेत्र नम्बर ३ र जुली धनुषाकै क्षेत्र नं ४ बाट उम्मेदवार छन्।
त्यस्तै, जनता समाजवादी पार्टीका अशोक राई सुनसरी-१ बाट चुनाव उठेका छन् भने उनकी श्रीमती सुशिला श्रेष्ठ समानुपातिक तर्फको सूचीमा छिन्।
२. सय वर्षका उम्मेदवार
गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ सय वर्षका टीकादत्त पोखरेल उम्मेदवार छन्।
उनी नेपाली कांग्रेस बिपीबाट उम्मेदवार बनेका हुन्। पोखरेलको प्रतिस्पर्धा नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अब्दुस मियाँसँग हुँदैछ। २००७ सालदेखि जनताका लागि लड्दै आएको बताउने टीकादत्तले चुनाव प्रचारमा आफूले प्रचण्डलाई सजिलै पराजित गर्ने दाबी गर्ने गरेका छन्।
३. रिटायर्ड प्रहरीको राजनीतिक कदम
नेपाल प्रहरीको महानिरीक्षक भैसकेका सर्वेन्द्र खनाल यसपटक नेकपा एमालेबाट काठमाडौं–६ मा चुनाव लड्दैछन्। त्यस्तै, पूर्व डिआइजी रमेश खरेल काठमाडौं–१ बाट चुनावमा होमिएका छन्।
त्यस्तै, २०७४ को निर्वाचनमा नै नेकपा एमालेबाट टिकट पाएर चुनाव जितेका पूर्व डिआइजी नवराज सिलवाल यसपटक पनि ललितपुर–३ बाट चुनावी प्रतिस्पर्धामा छन्।
नेपाल प्रहरीमा महानिरीक्षक भैसकेका ध्रुवबहादुर प्रधान पनि यसपटकको चुनावमा राप्रपाबाट उम्मेदवार छन्।
उनी नवलपरासी–२ बाट उठेका छन्। त्यसैगरी सशस्त्र प्रहरीका पूर्व एआइजी ठाकुरमोहन श्रेष्ठ पनि राप्रपाबाट काठमाडौं–४ मा उम्मेदवार छन्।
४. जो जित्दा पनि संसद छिर्न पाउने छैनन्
नेपाली कांग्रेसबाट सुनसरी–३ बाट उम्मेदवार बनेका विजय गच्छदार चुनाव जिते पनि संसद छिर्न पाउने छैनन्। उनी विरूद्धको भ्रष्टाचार मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ।
अहिले १० लाख धरौटीमा छुटेका गच्छदार सांसद बनेको अवस्थामा पनि निलम्बनमै रहनेछन्। मुद्दाको किनारा नलागेसम्म न त उनले प्रधानमन्त्रीलाई विश्वासको मत माग्दा मतदान गर्न पाउने छन् न त कुनै कानुन बनाउँदा अथवा बजेट पास गर्दा भोट नै दिन पाउनेछन्।
गच्छदारजस्तै भ्रष्टाचारको आरोप खेपिरहेका नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री टेकबहादुर गुरूङले मनाङमा जीत हात पारेको अवस्थामा सांसद छिर्न पाउने छैनन्। उनीविरूद्ध पनि भ्रष्टाचारको मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको छ।
५. जसको नाम समानुपातिकको सूचीबाट हट्यो
प्रतिनिधिसभा निर्वाचनका लागि समानुपतिकतर्फ दलहरूले बुझाएको सूचीबाट निर्वाचन आयोगले २ सय ३ जनाको नाम हटाएको छ।
नेपाली कांग्रेसबाट समानुपातिकतर्फ उम्मेदवार रहेका प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारको नाम समेत हटेको छ। उनी लाभको पदमा भएका कारण नाम काटिएको हो।
त्यस्तै, माओवादी केन्द्रका ३ जनाको नाम काटिएको छ। जसमध्ये उर्मिला देवी कोइरनले दोहोरो उम्मेदवारी दिएकी थिइन्। जनता समाजवादी पार्टीका दश जनाको नाम काटिँदा सर्पराज शाहीको उमेर २४ वर्ष भएका कारण नाम हटेको छ। प्रतिनिधि सभाको चुनाव लड्ने व्यक्ति २५ वर्ष पुगेको हुनुपर्छ।
त्यस्तै, एकीकृत समाजवादीका ६ जनाको नाम हटेको छ। जसमध्ये एक उम्मेदवारले मतदाता नामावली र उम्मेदवारी दिँदा लैंगिक पहिचान फरक उल्लेख गरेकै कारण सूचीबाट हट्नुपरेको छ।
६. बाबुको टिकट छोरा उम्मेदवार
मुस्ताङमा नेपाली कांग्रेसले सभापति रोमी गौचन थकालीलाई प्रतिनिधि सभाको टिकट पठाएको थियो। सबैले गौचन चुनाव लड्ने आकलन गरेका थिए। तर उनले उम्मेदवारी दर्ता गर्ने बेला छोरा योगेश गौचनको नाम लेखेर उम्मेदवारी दर्ता गर्न लगाए। २८ वर्षीय योगेश प्रतिनिधि सभातर्फ कांग्रेसबाट उठेका उम्मेदवारमध्ये कान्छा उम्मेदवार बनेका छन्।