नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गाउँमा विकासका पूर्वाधार खडा गरेर गाउँमै बसौं-बसौं लाग्ने बनाउने आफ्नो इच्छा अहिलेसम्म पूरा हुन नसकेको बताएका छन्।
उनले नेपालबाट प्रतिभा र श्रमशक्तिको पलायन भइरहेको बताए।
‘हाम्रा गाउँहरू रित्तिइरहेका छन्। हामीले हरेक गाउँमा मोटर, बिजुली, खानेपानी पुर्यायौं त्यहाँ स्कुल र स्वास्थ्य चौकी बनायौं। गाउँमा विस्तारै सबै सुविधा पुगेका छन् तर जनशक्ति पलायन रोकिएको छैन,’ उनले आज एक भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘गाउँ रित्तिँदैछन्। अहिलेको समस्या र चुनौती भनेको कसरी गाउँमा बस्ने वातावरण बनाउने भन्ने हो।’
गाउँमा बसौं-बसौं लाग्ने वातावरण बनाउन आफू राजनीतिमा लागेको उनले दाबी गरेका छन्। ‘गाउँमा बसौं-बसौं लाग्ने वातावरण बनाउन पनि म यसपालि फेरि चुनावमा लडेको छु,’ उनले भने। पौडेल तनहुँ १ मा प्रतिनिधि सभा उम्मेदवार छन्।