गृहमन्त्री बालकृष्ण खाणले वर्तमान व्यवस्थाप्रति असन्तुष्टि जाहेर गर्ने अधिकार सबैलाई भए पनि निर्वाचन बिथोल्ने अधिकार भने कसैलाई नभएको प्रष्ट पारेका छन्।
बुटवलमा बुधबार आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री खाणले कुनै दल वा समूहका नाममा निर्वाचन खल्बलाउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिने अधिकार कसैको नभएको भन्दै मूलधारको राजनीतिमा आउन आग्रह गरे।
‘असन्तुष्टि राख्ने अधिकार जसलाई पनि छ तर, आफ्नो अधिकारको प्रयोग गर्दा मत हाल्ने र प्रतिनिधि चुन्ने नागरिकको अधिकार खोस्ने अधिकार भने कसैलाई पनि छैन,’ उनले भने।
गृहमन्त्री खाणले वर्तमान व्यवस्थाप्रति केही असन्तुष्टि जाहेर गर्दै मूलधारको राजनीतिभन्दा बाहिर रहेका दल वा समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल गरिरहेको बताए।
‘हामी मिल्नेसम्म लचक भएर असन्तुष्ट दल तथा समूहसँग संवाद र छलफल गरिरहेका छौं,’ खाणले भने।
असन्तुष्ट दल वा समूहले राखेका कतिपय माग संविधानभन्दा विपरीत रहेको र ऐन संशोधन बिना सम्बोधन गर्न नसकिने उनले स्पष्ट पारे।
गृहमन्त्री खाणले यो कुनै दल वा नेतालाई जिताउने र हराउने निर्वाचनमात्रै नभएर प्राप्त अधिकारको संरक्षण गर्ने र नागरिकको जीवनस्तर बदल्ने अभियान भएकोले निर्धक्क भएर आफूले चाहेको र रोजेको व्यक्ति वा दललाई मत हाल्न पनि मतदातालाई आग्रह गरे।
सरकार भयरहित, शान्तिपूर्ण र स्वतन्त्र रूपमा निर्वाचन गराउन प्रतिबद्ध रहेको बताउँदै त्यस अनुसार जुट्न सुरक्षाकर्मीहरूलाई आग्रह समेत गरे।
‘सबै नागरिक सुरक्षीत होऊन्, ढुक्कसँग मतदानस्थल सम्म पुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गरेर फर्कन सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने।
सुरक्षा गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारी सहभागी छन्।
उनीहरूले बुधबार दिनभर सुरक्षा छलफल गरेर सुरक्षा योजना बनाउने लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए।