महोत्तरी क्षेत्र नम्बर ४ मा पुरानै प्रतिस्पर्धीबीच फेरि प्रतिस्पर्धा हुने देखिएको छ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि महोत्तरी ४ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता महेन्द्रकुमार राय साझा उम्मेदवार छन् भने नेकपा एमाले र जसपा गठबन्धनबाट डा. सुरेन्द्रकुमार यादव साझा उम्मेदवार छन्।
जनमत पार्टीबाट यो क्षेत्रमा मनोजकुमार साह उम्मेदवार छन् भने यो क्षेत्रमा ७ जना स्वतन्त्र उम्मेदवार पनि छन्। विभिन्न अन्य दलहरूबाट पनि उम्मेदवारी परेको छ। तर महोत्तरी ४ मा सत्ता र प्रतिपक्षी एमाले गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
प्रदेश सभामा भने गठबन्धन गरेका दुवै पक्षले फरक-फरक पार्टीबाट उम्मेदवार उठाएका छन्। महोत्तरी ४ को प्रदेश सभा क्षेत्र (क) मा एमालेबाट सरोजकुमार यादव उम्मेदवार छन् भने सत्ता गठबन्धनबाट लोसपाका कौशलकुमार यादव उम्मेदवार छन्।
यस्तै महोत्तरी ४ को प्रदेश सभा क्षेत्र (ख) मा एमाले-जसपा गठबन्धनबाट जसपाका सरोजकुमार सिंह र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका ललेन्द्रकुमार मण्डल उम्मेदवार छन्।
गत वैशाखमा भएको स्थानीय चुनावको मत हेर्दा यहाँ सत्ता गठबन्धन अगाडि छ। सत्ता गठबन्धनका पक्षमा ३७ हजार ८ सय ६२ मत आएको थियो।
यस्तै एमाले-जसपाको मत भने २० हजार एक सय ४० छ। यो मत स्थानीय चुनावमा एमाले र जसपाका वडाध्यक्षहरूले ल्याएको मत हो। स्थानीय चुनावको मत हेर्दा यहाँ सत्ता गठबन्धन र एमाले-जसपा गठबन्धनबीच मतान्तर फराकिलो देखिन्छ।
स्थानीय चुनावका बेला जसपा सत्ता गठबन्धनमा थियो। तर अहिले सिट बाँडफाँडमा विवाद भएपछि जसपाले सत्ता गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेको छ भने लोसपा सत्ता गठबन्धनसँग मिलेको छ।
सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेस नेता महेन्द्रकुमार राय संविधान रक्षा गर्ने र संविधानका व्यवस्था उल्लङ्घन गर्ने पक्षधरबीच यसपालि चुनावमा प्रतिस्पर्धा हुन लागेको उल्लेख गर्छन्।
‘यसपालि संविधान रक्षा गर्ने र संविधान नमान्ने प्रतिगमनकारी दुई ध्रुवबीच चुनावी प्रतिस्पर्धा हुँदैछ,’ उनी भन्छन्, ‘सत्ता गठबन्धन संविधानको रक्षा गर्न बनेको हो। हामी संविधान रक्षामा गर्दै नागरिकता समस्या पनि चाँडै नै समाधान गर्छौं।’
२०७४ को चुनावमा यो क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरमबाट सुरेन्द्रकुमार यादवले जितेका थिए। उनले १८ हजार ३ सय ५३ मत ल्याएर जित्दा कांग्रेसका महेन्द्रले जम्मा १३ हजार २५ मत मात्रै ल्याएका थिए। पाँच वर्षअघि चुनावमा प्रतिस्पर्धा गरेका महेन्द्र र सुरेन्द्र फेरि यसपालि चुनावमा आमनेसामने हुने भएका छन्।
सत्ता गठबन्धनको बलमा यसपालि चुनाव जित्ने तयारीमा महेन्द्र छन् भने यसपालि पनि चुनाव जितेर बाँकी रहेका कामलाई निरन्तरता दिने तयारीमा सुरेन्द्र छन्। यसले गर्दा यो क्षेत्रको चुनाव रोचक बन्न पुगेको छ। स्थानीय चुनावको मत हेर्दा सुरेन्द्रले केही मेहनत गर्नुपर्ने देखिन्छ भने महेन्द्रलाई गठबन्धनकै मत कायमै राख्ने चुनौती छ। उनीहरू चुनावी घरदैलो र कोण सभा गर्दै प्रचारप्रसार अभियान गरिरहेका छन्।
सुरेन्द्रले संसदमा कुशल व्यक्ति निर्वाचित भएर जानुपर्ने बताइरहेका छन्। उनी २०७२ मा चिकित्सा क्षेत्र छाडेर राजनीतिमा आएका थिए। ‘संसदमा कुशल व्यक्ति जानुपर्छ किनभने त्यहाँ पुगेर कानून बनाउने हो,’ उनले चुनावी अभियानमा भन्ने गर्छन्, ‘म चुनिएर गएँ भने मैले गरिरहेका योजनाका बाँकी कामहरू पूरा हुन्छन्, कानून बनाउन पनि सक्रिय भूमिका खेल्छु।’
उनले आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा सिँचाइमा काम गरिरहेको र बाँकी रहेका केही काम पूरा गर्न पनि फेरि चुनावमा होमिएको बताउने गरेका छन्। उनले विगतमा सांसद कोषको पैसा पनि शिक्षाका क्षेत्रमा खर्च गरेको दाबी गर्दै आएका छन्।