पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दिपक बोहराले क्षेत्रको दिगो विकासलाई प्राथमिकता राखेर काम गर्ने बताएका छन्।
विगतमा भैरहवा क्षेत्रमा सिँचाईको लागि भैलुभुज, गौतमबुद्ध विमानस्थल, ६ लेन सडक, भैरहवा लुम्बिनी सडक, रामापुर लुम्बिनी सडक, बनगाई मर्चवार सडक, ग्रामिण क्षेत्रमा विद्युतीकरण जस्ता कामको सुरूवात आफू सांसद र मन्त्री हुँदा गरेको दाबी गर्दै उनले भैरहवा क्षेत्रको दिगो विकासको लागि आफ्नो आगामी उम्मेदवारी रहेको बताए।
बोहराले आफूले जीवन पर्यन्त देशको विकासको लागि काम गरेको दाबी समेत गरे।
आफ्नो स्वास्थ्यलाई लिएर केही व्यक्तिले टिप्पणी गरेको प्रति बोल्दै बोहराले घाँटीमा सामान्य समस्या देखिएकोले चिकित्सकले केही समय भाषण तथा जोडले बोल्ने काम नगर्न दिएको सुझाव अनुसार ‘भ्वाइस रेष्टमा’ रहेको स्पष्ट पारे।
कुनैपनि व्यक्तिको स्वास्थ्यलाई लिएर गरिने टिकाटिप्पणीले स्वयं बोल्ने व्यक्तिकै कद घटाउने भएकाले आफूले त्यसतर्फ चासो नदिएको बताए।
‘पोष्ट कोभिडका कारण घाँटीमा समस्या देखिएकाले चिकित्सकले केही समय घाँटीमा जोड बल पुग्ने गरी बोल्न र भाषण नगर्न सुझाव दिनुभएको छ, त्यही अनुसार भ्वाइस रेष्टमा छु,’ उनले भने, ‘दुई महिनापछि पूर्ण रुपमा निको भएपछि गलत अफबाह फैलाउनेहरूलाई जवाफ दिनेछु।’
आफू २७ वर्षको उमेरमै २०३८ सालदेखि नै संसदीय राजनीतिमा लागेको उल्लेख गर्दै बोहराले अहिलेको आफ्नो उम्मेदवारी भने जीवनको अन्तिम भएको बताए।
बोहरा रुपन्देही क्षेत्र नं. ३ मा एमाले र जसपाको सहयोगमा उम्मेदवार बनेका हुन्।