प्रधानमन्त्री र मन्त्रीहरू चुनाव प्रचारप्रसारका कार्यक्रममा सहभागी हुन पाउने भएका छन्।
तर यसरी चुनावी कार्यक्रममा जानुअघि निर्वाचन आयोगबाट भने अनुमति लिनुपर्नेछ। प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो क्षेत्रबाट अन्य क्षेत्रमा चुनावी कार्यक्रममा जानुपरे आयोगबाट अनुमति लिनुपर्ने भएको हो।
प्रधानमन्त्री र संघ तथा प्रदेशका मन्त्रीहरूले चुनावी कार्यक्रममा जाँदा सरकारी स्रोत, साधनको प्रयोग भने गर्न पाउने छैनन्।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कात्तिक १७ देखि मंसिर १ गतेसम्म दलहरूले आमसभा र जुलुस गरेरै चुनावी प्रचार गर्न पाउने बताए। ‘आयोगको अनुमति लिएर प्रधानमन्त्री र मन्त्रीहरू चुनावी कार्यक्रममा जान पाउँछन्,’ उनले भने।
चुनाव हुनुभन्दा १७ दिनअघि मात्रै चुनावी प्रचार गर्न आयोगले दलहरूलाई समय दिएको थियो।
चुनावी प्रचारका कार्यक्रममा भएका गरेका खर्चको विवरण राजनीतिक दल वा उम्मेदवारले आयोगमा पेश गर्नुपर्ने हुन्छ। निर्वाचन खर्चको सीमाभित्र बसेर दल वा उम्मेदवारले कार्यक्रम गर्न पाउँछन्। मञ्च निर्माणदेखि के के मा खर्च हुन्छ सबैको विवरण चुनाव सकिएको १५ दिनभित्र उम्मेदवार वा प्रतिनिधि मार्फत आयोगमा पेश गर्नुपर्ने हुन्छ।
आयोगले दलका प्रमुख प्रचारकलाई हेलिकप्टर प्रयोगको अनुमति पनि दिएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हेलिकप्टर प्रयोगको अनुमति पाइसकेको आयोग स्रोतको भनाइ छ। देउवा गृहजिल्ला डडेल्धुरामा आजदेखि कात्तिक २० गतेसम्म हुने आमसभाका लागि आयोगबाट अनुमति लिएर त्यसतर्फ गइसकेका छन्।