बारा क्षेत्र नम्बर १ मा मंसिर ४ मा हुने निर्वाचनमा पनि पुरानै प्रतिस्पर्धीबीच मुख्यरूपमा प्रतिस्पर्धा हुने देखिएको छ।
सत्ता गठबन्धनबाट खानेपानी मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता उमाकान्त चौधरी र नेकपा एमाले-जसपा गठबन्धनबाट एमाले नेता अच्युतप्रसाद मैनाली प्रतिनिधि सभातर्फ उम्मेदवार छन्।
२०७४ सालमा भएको चुनावमा पनि चौधरी र मैनालीबीच प्रतिस्पर्धा भएको थियो। पाँच वर्षपछि हुन लागेको चुनावमा पनि चौधरी र मैनाली नै चुनावी मैदानमा छन्। २०७४ मा यो क्षेत्रबाट चौधरीले चुनाव जितेका थिए।
चौधरीले त्यसबेला २४ हजार चार सय ५० मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार मैनालीले २२ हजार ३० मत ल्याएका थिए। २०७४ मा एमाले र माओवादीबीच वाम गठबन्धन बनेको थियो भने अहिले माओवादी कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा छ। एमालेले जसपासँग चुनावी तालमेल गरेको छ।
बारा १ मा प्रतिनिधि सभातर्फ चुनावका लागि राप्रपाबाट भक्तबहादुर दर्लामी र जनमत पार्टीबाट मनोजकुमार यादवसहित विभिन्न पार्टीका उम्मेदवारहरू र ६ जना स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन्।
प्रदेश सभा क्षेत्र (क) मा सत्ता गठबन्धनबाट कांग्रेसका रमेशप्रसाद दंगाल र एमाले-जसपा गठबन्धनबाट एमालेका त्रिलोकीप्रसाद चौधरी उम्मेदवार छन्।
प्रदेश सभा क्षेत्र (ख) मा एमाले-जसपा गठबन्धनबाट जसपा नेता सरोजकुमार यादव र सत्ता गठबन्धनबाट कांग्रेसका नागेन्द्रप्रसाद यादव चुनावी मैदानमा छन्। यहाँ नेकपा एकीकृत समाजवादीबाट बतहुराय यादव पनि उम्मेदवार छन्।
गत वैशाखमा भएको स्थानीय चुनावमा वडाध्यक्षहरूले ल्याएको मत हेर्दा बारा १ मा सत्ता गठबन्धन अगाडि छ। यहाँ सत्ता गठबन्धनमा रहेका दलहरूले त्यसबेला ४९ हजार ४ सय ८० मत ल्याएका थिए।
साथै एमाले-जसपा गठबन्धनको यहाँ मत ३१ हजार ९ सय ५९ छ। खानेपानी मन्त्रीसमेत रहेका सत्ता गठबन्धनका उम्मेदवारलाई स्थानीय चुनावमा आएको मतलाई कायमै राख्नुपर्ने चुनौती छ भने एमाले-जसपा गठबन्धनका उम्मेदवार मैनालीलाई केही मेहनत गरी मत बढाउनुपर्ने चुनौती रहेको छ।
चौधरीले अधुरा रहेका विकास निर्माणलगायतका काम पूरा गर्न यसपालि पनि जनताले आफूलाई जिताउने विश्वास लिएको बताउने गरेका छन्।
उनले नागरिकताका समस्या समाधान गर्नेदेखि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र फाष्ट ट्याक सडक निर्माणजस्ता आयोजना अगाडि बढाउन आफूले पहल गरिरहेको चुनावी अभियानका क्रममा बताउने गरेका छन्।
‘संविधान र लोकतन्त्र रक्षा गर्न र सिंगो क्षेत्रको विकासका लागि जनताले मलाई फेरि मत दिएर जिताउनुहुनेछ भन्ने विश्वास छ,’ उनले भने, ‘केही अधुरा योजना छन् ती पूरा गर्नुपर्नेछ। विकास निर्माण र शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पनि काम गर्नुपर्ने छन्।’
एमाले-जसपा गठबन्धनबाट उम्मेदवार रहेका अच्युतप्रसादले जनजीविका, सामाजिक सुरक्षा तथा सुशासनका क्षेत्रमा आमुल परिवर्तनका लागि एमाले-जसपा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै १० बुँदे प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेका छन्।
स्थानीय तहसँग समन्वय गरी कालोबजारी नियन्त्रण गर्दै जनताका हितमा काम गर्ने, स्थानीय उत्पादनलाई प्रबर्द्धन र बजारीकरण गर्ने, बारा १ भित्र पर्ने भूमिहीनका समस्या समाधान गर्ने, सार्वजनिक सम्पत्ति रक्षा गर्ने, जनताको सेवा जनताकै घरमा भन्ने अवधारणाका लिएर आउनेजस्ता प्रतिवद्धता उनीहरूले सार्वजनिक गरेका छन्। मैनालीले चुनाव जितेर बारा क्षेत्र नम्बर १ को विकासमा लागिपर्ने चुनावी घरदैलोका क्रममा भएका कोण सभाहरूमा बताउने गरेका छन्।