नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबारदेखि गृहजिल्ला डडेल्धुरामा छन्। उनी कात्तिक २० गतेसम्म डडेल्धुरामा बस्छन्। देउवा डडेल्धुराबाट मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावमा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार छन्।
प्रधानमन्त्रीसमेत रहेका देउवाले चुनावी घरदैलो गर्ने छैनन्। तर जिल्लाका सात ठाउँमा चुनावी आमसभामा सम्बोधन गर्ने कार्यक्रम भने छ।
बिहीबार देउवाले सदरमुकाममा आयोजित आमसभालाई सम्बोधन गरिसकेका छन्। देउवाले गठबन्धनको अपरिहार्यता अझै रहेको बताएका थिए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र मास्ने र संविधान च्यात्ने प्रयास थालेपछि पाँचदलीय गठबन्धन बनेको आरोप लगाउँदै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन एक भएको बताए।
उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका साथै अन्य दलको सहयोगमा आफूले नचाहँदा पनि प्रधानमन्त्री बन्नुपरेको स्पष्ट पारेका थिए।
ओलीले सरकारको नेतृत्व गरिरहेकै बेला दुईपटक संसद् विघटन गरेको घटना, लोकतन्त्र र जनताको मर्म बुझ्ने गरी निर्माण भएको संविधानको बर्खिलापमा लाग्न थालेपछि माओवादी, समाजवादी, जनमोर्चा र अन्य मधेसवादी दलका नेताको सहयोगमा आफूले नेतृत्व लिएको उनले बताए।
जनतालाई झुटा आश्वासन र गफका भरमा देशको गरिमा नै खतरामा पारिरहेको अवस्थामा ओलीको सर्वसत्तावाद र स्वेच्छाचारी प्रवृत्तिबाट मुक्त गर्न पाँच दलीय गठबन्धन गरी देशलाई हाँकिरहेको प्रधानमन्त्री देउवाको भनाइ थियो।
‘त्यसैले यो गठबन्धन देशको आर्थिक समुन्नति र बेरोजगारीका साथै समृद्ध नेपाली नबनेसम्म रहिरहन आवश्यक छ’, उनले भने।
डडेल्धुराको विकासका लागि आफू सधैँ लागिपरेको जनाउँदै डडेल्धुरा–धनगढी चार लेन सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
डडेल्धुरामा मेडिकल कलेजको काम अगाडि बढिसकेको स्मरण गराउँदै उनले पश्चिमसेती जलविद्युत् परियोजनाका लागि भारतसँग सम्झौता गरी काम अगाडि बढिसकेको बताए।
ग्रामीण सडक विस्तार र प्राविधिक शिक्षासँगै गुणस्तरीय शिक्षाका लागि पनि आफू लाग्ने उनले बताए। प्राचीन धरोहर र मौलिकता ओगटेका कुरालाई जोगाएर राख्नका लागि जिल्लावासीलाई प्रधानमन्त्री देउवाले आग्रहसमेत गरेका थिए।
स्थानीयस्तरमा बजार तथा गाउँका नाम परिवर्तन गर्दा मौलिकता हराउँदै गएको उनको भनाइ थियो। प्रधानमन्त्री देउवाले गठबन्धनका उम्मेदवारलाई भोट हाल्न सङ्कोच नगर्नसमेत जिल्लावासीलाई अनुरोध गरेका थिए।
आफूलगायत गठबन्धनका नेताले एक–अर्काको पार्टीलाई पटक–पटक भोट हालेको जनाउँदै जिल्लावासीलाई पनि कुनै द्विविधामा नरही गठबन्धनबाट उम्मेदवार बनेका नेतालाई जिताउन अपिल गरेका थिए।
(राससको सहयोगमा)