रौतहट क्षेत्र नम्बर २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका मो. फिरदोस आलम, नेकपा एमाले-जसपा गठबन्धनबाट जसपाका शैलेन्द्र साह र एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका किरण साहबीच प्रतिस्पर्धा हुने देखिएको हो।
रौतहट २ मा मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावमा यीबाहेक राप्रपाबाट महिन्द्र साह तेली र जनमत पार्टीबाट रामयस झा पनि उम्मेदवार छन् भने स्वतन्त्रतर्फ अन्य ६ जना उम्मेदवार छन्।
प्रदेश सभा क्षेत्र (क) मा एमाले-जसपा गठबन्धनबाट एमालेका मोहम्मद जैद, लोसपाबाट शेख जमसैदलगायत उम्मेदवार छन्।
प्रदेश सभा क्षेत्र (ख) मा जसपाबाट रामकिशोर प्रसाद, माओवादीबाट सुरेन्द्र प्रसाद, नेकपा एकीकृत समाजवादीबाट कनिश पटेललगायत उम्मेदवार छन्।
२०७४ को चुनावमा रौतहट २ मा कांग्रेसका मोहम्मद अफताव आलमले चुनाव जितेका थिए। त्यसबेला उनले १८ हजार ८ सय ३३ मत ल्याएका थिए। तत्कालीन संघीय समाजवादी फोरमबाट किरणकुमार साह आलमका निकटतम प्रतिद्वन्द्वी थिए। किरणकुमारले १६ हजार ८ सय ६५ मत ल्याएका थिए।
किरण यसपालि पार्टी परिवर्तन गर्दै नेकपा एमालेमा प्रवेश गरेका थिए। तर उनले टिकट पाएनन्। उनी प्रभु साहनिकट थिए। पार्टीबाट टिकट नपाएपछि किरणकुमारले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यसपालि हुने चुनावमा कांग्रेसका फिरदोस, जसपाका शैलेन्द्र र स्वतन्त्र उम्मेदवार किरणकुमारबीच मुख्य रूपमा प्रतिस्पर्धा हुने देखिएको छ।
गत वैशाखमा भएको स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारहरूले ल्याएको मतअनुसार रौतहट २ मा सत्ता गठबन्धन अगाडि छ। कांग्रेस नेतृत्वको गठबन्धनका पक्षमा ४३ हजार १७ मत छ भने एमाले-जसपा गठबन्धनका पक्षमा १५ हजार ६ सय ७ मत देखिन्छ।
२०७४ मा कांग्रेसबाट चुनाव जितेका आलम जेलमा छन्। उनी उठ्न नपाउने भएपछि कांग्रेसले उनका जेठा छोरा फिरदोस आलमले टिकट पाएका थिए। फिरदोस पूर्वप्रहरी निरीक्षक हुन्। बाबु जेल परेपछि उनले प्रहरी सेवा छाडेका थिए।
मोहम्मदलाई २०७६ असोज २६ मा प्रहरीले पक्राउ गरेको थियो। आलम नख्खु जेलमा छन्। उनलाई २०७६ कात्तिक २९ मा पुर्पक्षका लागि थुनामा पठाइएको थियो।
उनीमाथि २०६४ चैत २७ मा राजपुरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको अभियोग छ।
स्थानीय शेख इद्रिसको घरमा बम बिस्फोट हुँदा त्यसबेला त्रिलोकप्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको थियो।
उक्त घटनामा घाइते भएकाहरूलाई इँटाभट्टामा जिउँदै जलाइएको परिवारका सदस्यहरूले आरोप लगाउँदै आलममाथि किटानी जाहेरी दिएका थिए।
गत वैशाखमा भएको स्थानीय चुनावमा आलमका कान्छा छोरा राजिक आलम कांग्रेसबाट रौतहटको राजपुर नगरपालिकाको प्रमुख जितेका थिए। मोहम्मद आलम जेलमा भए पनि उनको परिवारका सदस्यहरू राजनीतिमै सक्रिय भएर लागेका छन्।
फिरदोसले चुनावी सभाहरूमा आफ्ना बाबु मोहम्मदलाई षड्यन्त्रकारीहरूले फसाएको र कांग्रेस पार्टीलाई पनि बदनाम गराउन खोजेको बताउने गर्छन्। उनले बाबुलाई जस्तै आफूलाई पनि जनताले जिताएर पठाउने विश्वास गरेका छन्। ‘जालझेल र षड्यन्त्र गरी बाबुलाई षड्यन्त्रकारीहरूले फराए। तर पार्टी अझै बलियो भएर जान्छ। मंसिर ४ मा जनताले मलाई जिताउनुहुन्छ भन्ने विश्वास छ,’ उनले चुनावी सभाहरूमा भन्ने गरेका छन्।
एमाले-जसपाबाट उम्मेदवार रहेका सैलेन्द्र साहले रौतहट २ मा जनताले परिवर्तन चाहेको बताएका छन्। उनले पनि यसपालि आफूहरूले चुनाव जित्ने दाबी गर्दै आएका छन्। ‘एउटा र पुस्तान्तरणमा यहाँको राजनीति केन्द्रित छ तर जनताले परिवर्तन चाहेका छन्,’ उनले चुनावी सभाहरूमा भन्छन्, ‘यसपालि जनताले परिवर्तनको सन्देश दिन्छन् भन्ने विश्वास छ।’
यही क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका किरणकुमारले दलीय सिण्डिकेट तोडिनुपर्ने बताएका छन्। ‘पार्टीले टिकट दिएन, जनताको टिकटमा चुनाव उठेको छु,’ उनले भने, ‘जनताले साथ दिने हो भने यसपालि चुनाव जित्छु। २०७४ मा थोरै मतले पराजित भएको थिएँ।’ परिवर्तनका पक्षमा जनता रहेकोले यसपालि स्वतन्त्र उम्मेदवारले चुनाव जित्ने उनले दाबी गरेका छन्।