निर्वाचन आयोगले तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा निवेदन दिएको छ।
आयोगको टोलीले शुक्रबार सर्वोच्चमा निवेदन दिएको उपन्यायाधिवक्ता गुरु वाग्लेले बताए।
‘हामीले आज सर्वोच्चमा पुगेर कार्कीको उम्मेदवारी कायमै राख्ने अन्तरिम आदेख खारेजीका लागि निवेदन दिएका हौँ,’ वाग्लेले भने।
निर्वाचन आयोगले लाभको पदमा बसेर कार्कीले उम्मेदवारी दिएको उजुरीपछि उनको उम्मेदवारी खारेज गरिदिएको थियो।
मेडिकल काउन्सिलबाट भत्ता मात्रै प्राप्त हुने हुँदा त्यस पदबारे निर्क्यौलका लागि कार्कीले आयोगमा भदौ २८ मा निवेदन दिएकी थिइन्। आयोगले त्यस निवेदन कुनै सुनुवाइ नगरी आफूविरूद्धको उजुरीको आधारमा उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै कार्की सर्वोच्च पुगेकी थिइन्।
कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर- ३ मा प्रतिनिधि सभाकी उम्मेदवार हुन्। नेपाल मेडिकल काउन्सिलको सदस्यको रूपमा बैठक भत्ता लिने गरेको आधारमा लाभको भन्न नमिल्ने भन्दै उम्मेदवारी कायमै राख्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो।
गत मंगलबार न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी कायम रहने अन्तरिम आदेश सुनाएको थियो।