जनता समाजवादी पार्टी (जसपा)ले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा जसपाले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो। प्रतिबद्धता पत्र पार्टीका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक गरे।
पार्टीले प्रतिबद्धता पत्रमा समानुपातिक निर्वाचन प्रणालीको आधारमा सबै तहको निर्वाचन गर्नुपर्ने उल्लेख गरेको छ। त्यस्तै शासकीय स्वरुपमा कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने तथा कार्यकारी राष्ट्रपतिले समावेशी रूपमा सक्षम व्यक्तिहरूको छनोट गरेर मन्त्रिपरिषद बनाउने उल्लेख गरेको छ।
शासकीय स्वरूपमा परिवर्तन, संघीय संरचनाहरूको निर्माण, न्याय प्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना गर्न, संवैधानिक निकायलाई बलियो बनाउन, जनलोकपाल जस्ता निकायहरूको गठन गर्न, उत्पीडित समुदायको हक, अधिकार र पहिचानलाई सुनिश्चित गर्ने लगायतका कार्य गर्न संविधान संशोधन अपरिहार्य रहेको उल्लेख गर्दै जसपाले संविधान संशोधन अहिलेको मुख्य संघर्ष रहेको प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ।
वर्तमान पूर्व-पश्चिम लोकमार्गलाई स्तरोन्नति गरी चार लेन बनाउने र काठमाडौंको रिङरोडलाई पाँच वर्षभित्र साइकल लेनको समेत व्यवस्था गरी ८ लेनको बनाउने जसपाले जनाएको छ।
चीनसँग जोडिएको केरुङ नाकाबाट भारत जोड्ने उत्तर दक्षिण रेल मार्ग तथा देशको पश्चिमी भेगमा भारत–चीनसँग व्यापारिक सम्बन्ध जोड्ने मुस्ताङ र डोल्पा नाकासम्म लोकमार्ग निर्माण गर्ने जसपाले जनाएको छ।
काठमाडौंका चन्द्रागिरिदेखि धुलिखेलसम्मका आसपासका नगरपालिकाहरूलाई समेटेर मेट्रो रेल सञ्चालन गर्ने उल्लेख गर्दै जसपाले अबका पाँच वर्षभित्र आधारभूत रूपमा १२ कक्षासम्मको शिक्षा पूर्णतया निःशुल्क गर्ने र गरिब, विपन्न तथा न्यून आय भएका परिवारका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि राज्यले विशेष छात्रवृत्तिको व्यवस्था गरिने उल्लेख छ।
प्रत्येक पालिका तहमा वरिष्ठ फिजिसियनसहितको चिकित्सकीय दरबन्दी कायम गरी २५ शय्याको सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्ने जसपाले जनाएको छ।
पूर्णपाठ: