मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य चुनाव नजिकिएसँगै उम्मेदवार र पार्टीहरूले चुनावी गतिविधिलाई तीव्रता दिन थालेका छन्।
कात्तिक १७ गतेदेखि चुनाव केन्द्रीत आमसभा र र्याली गर्न पाउने भएपछि उम्मेदवारहरू आ-आफ्नो क्षेत्रमा केन्द्रीत भएका छन्।
धान भित्र्याउने चटारोमा रहेका मतदातालाई भने चुनावी रन्कोले अझै छोइसकेको छैन। उम्मेदवारहरू के-के एजेन्डा ल्याएर आउँछन् भनेर मतदाता कुरिरहेजस्ता देखिन्छन्।
प्रदेश १ को राजधानी विराटनगरमा चुनावी माहौल बिस्तारै तातिने क्रममा छ।
विराटनगर महानगरका ७ वटा वडा पर्ने मोरङ-६ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका शेखर कोइराला र नेकपा (एमाले) बाट लालबाबु पण्डित उम्मेदवार बनेका छन्। २०७४ मा झिनो मतान्तरले पहिलो र दोस्रो भएका पण्डित र कोइरालाबीच नै यसपालि पनि प्रतिष्पर्धा हुने देखिएको छ।
शनिबार विराटनगरमा दुबै उम्मेदवारको चुनावी प्रचार भइरहेको थियो। नेपाल मुस्लिम संघ मोरङले एउटा होटलको हलमा सत्तारूढ गठबन्धनका उम्मेदवारका पक्षमा चुनावी प्रचार प्रसार सभा गरेको थियो। हलभित्र गरिएको उक्त सभामा कांग्रेस उम्मेदवार कोइरालासहित नेताहरू मीनेन्द्र रिजाल, डिला संग्रौलालगायत सहभागी थिए।
माओवादी केन्द्रबाट मोरङ-४ मा प्रतिनिधि सभा उम्मेदवार अमनलाल मोदीसहित माओवादी नेताहरू पनि सभामा सहभागी थिए। हलभित्रको कार्यक्रमलाई सभा भनिएको थियो तर आधाभन्दा बढी कुर्सी भने खाली नै देखिन्थे।
त्यहीँ भएर होला कोइराला र मोदी आ-आफ्नो भाषण सक्नासाथ होटलबाट निस्किहाले। भाषणको क्रममा मोदीले कांग्रेस नेताहरूको प्रशंसा गरे र भाषण सक्ने बेलामा भने-जय नेपाल!
उनको जय नेपाल सुनेर हलमा पररर ताली बज्यो।
आफ्नो भाषणका क्रममा कांग्रेस उम्मेदवार कोइरालाले अहिलेको गठबन्धन बनाउनुको औचित्यबारे बताए। सुरूमा चुनावमा गठबन्धन बनाउन नहुने पक्षमा रहेका कोइरालाले भाषणका क्रममा चुनावपछि कांग्रेसको नेतृत्वमा यहीँ गठबन्धनको सरकार बन्ने बताए।
कांग्रेसको रूख चिन्ह र माओवादीको गोलाकारभित्रको हँसिया हतौडाभित्र मत हाल्न अनुरोध गर्दै उनी पनि भाषणलगत्तै होटलबाट बाहिरिए।
उनी निस्किने बेला कार्यक्रम सञ्चालकले भने- हाम्रा उम्मेदवार शेखर कोइराला भावी प्रधानमन्त्रीका दाबेदार हुनुहुन्छ, उहाँलाई सबै जनालाई उठेर विदाइ गरौं।
उता एमाले उम्मेदवार पण्डितका पक्षमा भोट माग्न उनकी श्रीमती विमला महत घरदैलो गरिरहेकी भेटिइन्। विराटनगर-५ मा शनिबार साँझ केही कार्यकर्तासहित उनी पण्डितको पर्चा बाँडिरहेकी थिइन्।
‘भोट माग्न तपाईं पो आउनुभएछ त? उम्मेदवार कहाँ हुनुहुन्छ?,’ एक मतदाताले सोधे।
महतले पण्डित टोल-टोलको कार्यक्रममा व्यस्त भएकाले आफू पनि भोट माग्न हिँडेको बताइन्।
‘कति धेरै वडा छ, उहाँ सबै घर-घरमा पुग्न नसक्ने भएपछि म पनि भोट माग्न हिँडें,’ उनले भनिन्।