नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चुनावपछि पनि गठबन्धन निरन्तर रहने बताएका छन्। उनले कम्तिमा ५ वर्ष गठबन्धन निरन्तर रहने बताए।
लोकतान्त्रिक वाम गठबन्धनले रोल्पामा गरेको कार्यक्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका कदमका विरूद्धमा गठबन्धन गरिएको बताए।
२०७४ को निर्वाचनबाट जनताले स्थिरता र विकासका लागि मत दिए पनि तत्कालीन प्रधानमन्त्री ओलीको घमण्ड र अहंकारले ५ वर्ष खेर गएको उनको भनाइ थियो।
उनले ओलीमा निरंकुश चरित्र भएको आरोप लगाए।
‘५ वर्ष एक ढंगले खेर गयो। हामीले समयको सदुपयोग गर्न सकेनौँ। अघि हिँड्ने मानिस सही ढंगले हिँडेन र बाटो बिरायो भने अरुले दुःख पाउँछ। अघि हिँड्नेले घमण्ड गर्दा अरुले दुःख पाए,’ उनले भने, ‘ओलीमा निरंकुशता र व्यक्तिवादको भूत सवार भयो। म एक्लैले दुनियाँ थामेको छु जस्तो गर्न थाल्नुभयो। ओलीतन्त्रविरूद्ध यो गठबन्धन बनेको छ, कम्तिमा ५ वर्षसम्म गठबन्धन रहन्छ।’
ओलीले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आनाकानी गरेको आरोप उनको थियो।
‘गुप्तचर, राजश्व अनुसन्धान विभागसहितका निकाय केन्द्रित गरेर निरंकुश शासकले जस्तै शासन गर्नुभयो। मन्त्रीहरुलाई सामान्य कारिन्दाजस्तो व्यवहार गर्ने। सचिवहरुमार्फत काम गरेर पेन्डुलम बनाउने, प्रदेश सरकारहरुलाई मातहतका सरकारजस्तो बनाउने। स्थनीय सरकारको कुनै भाउ नहुने अवस्था उहाँले नै ल्याउनुभयो। बुद्धिजीवीलाई गाली गर्दै हिँड्नुभयो। आलोचना र सुझावलाई ग्रहण गर्नुको साटो बुद्धिजीवीलाई आऊ बहस गर्न कुन भाषामा आउँछौं भनेर चुनौती दिनुभयो,’ उनले भने।
ओलीले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरेको पनि पुनको आरोप थियो। न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा हस्तक्षेप गरेको आरोप पुनको छ। पार्टीभित्रको अन्तरसंघर्षलाई देखाएर ओलीले दुईपटक संसद विघटन गरेको पुनको भनाइ छ।
निरंकुशतालाई रोक्न र प्रतिगमन सच्याउनका लागि गठबन्धन निर्माण भएको पुनले उल्लेख गरेका थिए। जनताको अधिकार संरक्षण र संविधानको रक्षाका गठबन्धन बनेको भन्दै पुनले गठबन्धन पाँच वर्षपछिसम्म जान सक्ने आधार रहेको उल्लेख गरेका थिए।
राजनीतिक व्यवस्था परिवर्तनपछि अब मुलुकको आर्थिक अवस्था परिवर्तनको समय आएको उनले बताए। पुनले विगतमा भन्दा विकासका काममा गति आइरहेको पनि बताए। एकात्मक राज्य व्यवस्थाको अन्त्यसँगै स्थानीय तहसमेत अधिकार सम्पन्न भएकाले समन्यायिक विकासको अवधारणा अघि बढेको नेता पुनको भनाइ छ।
‘हामीले व्यवस्था बदल्यौँ, अब अवस्था बदल्छौँ। विगतमा भन्दा विद्यालय, अस्पताल, स्वास्थ्य केन्द्रहरुको निर्माण तीव्र गतिमा भइरहेको छ। हाम्रो निर्वाचन प्रणालीले कुनै एक दललाई बहुमत दिँदैन। राजनीतिक स्थायित्व चाहिएको छ, अर्कातिर विकास चाहिएको छ। जनताको अवस्था बदल्नु छ,’ उनले भने।