रौतहट क्षेत्र नम्बर ४ यसपालिको चुनाव रोचक हुने भएको छ।
सत्ता गठबन्धन र एमाले-जसपा गठबन्धनसहित विभिन्न पार्टीबाट र स्वतन्त्रहरूले यो क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दिएका छन्।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता, निवर्तमान सांसद देवप्रसाद तिमल्सिना उम्मेदवार छन् भने एमाले-जसपा गठबन्धनबाट एमाले नेता उद्धवप्रसाद रेग्मी उम्मेदवार छन्।
यहाँ राप्रपाबाट रूपलाल राय यादव उम्मेदवार छन्। दलका उम्मेदवारहरूलाई ८ जना स्वतन्त्र उम्मेदवारले चुनौती दिइरहेका छन् तीमध्ये कांग्रेसबाट टिकट नपाएपछि उम्मेदवारी दिएका अजयकुमार साह पनि हुन्।
प्रदेश सभा क्षेत्र (क) मा एमाले-जसपा गठबन्धनबाट एमालेबाट अखिलेश्वर चौधरी उम्मेदवार छन् भने यो क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादी नेता युवराज भट्टराई चुनावी मैदानमा छन्। यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका नेता बालकृष्ण श्रेष्ठले पनि उम्मेदवारी दिएका छन् त्यसैले यहाँ सत्ता गठबन्धनका उम्मेदवारबीच पनि मित्रवत प्रतिस्पर्धा गर्नुपर्ने स्थिति छ।
प्रदेश सभा क्षेत्र (ख) मा एमाले-जसपा गठबन्धनबाट जसपाका शेख अबुलकलाम, सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका शेख सतार अहमद र नेपाल संघीय समाजवादी लक्ष्मी साहलगायत विभिन्न पार्टी र स्वतन्त्रहरूबाट पनि उम्मेदवार छन्।
रौतहट ४ मा प्रत्येक चुनावमा नयाँ उम्मेदवारले जित्ने गरेको इतिहास छ। तर यो इतिहास तोडेर आफू नै पुन: जित्ने दाबी सत्ता गठबन्धनका उम्मेदवार तिमल्सिनाको छ।
‘२०७४ मा एमाले-माओवादी गठबन्धन हुँदा पनि यो क्षेत्रमा मैले जितेको हुँ। विकास निर्माणका अधुरा काम पूरा गर्न पनि यसपालि जनताले फेरि जिताउनुहुन्छ भन्ने विश्वास छ,’ तिमल्सिनाले चुनावी कोण सभाहरूमा भन्ने गरेका छन्, ‘धेरै काम गर्न बाँकी छ।’
उनले स्थानीय, प्रदेश र केन्द्र सरकार गठबन्धनको बन्ने भएकोले विकास निर्माणका काम गर्न सजिलो हुने पनि बताएका छन्।
‘२०७४ मा मैले चुनाव जितेँ तर केन्द्रमा वामगठबन्धनको सरकार बन्यो। सोचेजस्तो काम गर्न सकिएन,’ उनले भने, ‘यसपालि तलदेखि माथिसम्म हाम्रो गठबन्धनको सरकार बन्छ। विकास निर्माणका काम गर्न सजिलो हुन्छ।’
एमाले-जसपाबाट साझा उम्मेदवार उद्धवप्रसादले सिंगो रौतहट ४ नम्बर क्षेत्रको विकासका लागि आफूहरूलाई जनताले जिताएर पठाउने विश्वास व्यक्त गरेका छन्। उनले देश विकासका लागि एमाले नेतृत्वको गठबन्धनलाई मत दिनुपर्ने बताए। ‘यो क्षेत्रको विकासका लागि एमाले उम्मेदवारलाई जनताले जिताउनेछन् भन्ने विश्वास छ,’ उनले भने।
कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका अजयकुमार साहले सत्ता र एमाले-जसपा गठबन्धनका उम्मेदवारलाई चुनौती दिइरहेका छन्। गत वैशाखमा स्थानीय चुनावमा मेयरको टिकट मागेका थिए तर कांग्रेसले दिएको थिएन। त्यसै बेलादेखि रूष्ट उनी यसपालि पनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। यहाँ तिमल्सिना, रेग्मी र स्वतन्त्र उम्मेदवार साहबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। साहले यो क्षेत्रमा जनताले आफूलाई जिताएर पठाउने बताउने गरेका छन्।
गत वैशाखमा भएको स्थानीय चुनावको मतअनुसार सत्ता गठबन्धन रौतहट ४ मा अघि छ। कांग्रेस नेतृत्वको गठबन्धन ५५ हजार २ सय ७१ मतसहित अगाडि छ भने एमाले गठबन्धन १९ हजार १ सय ९ मत छ। यो वैशाखमा भएको स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारहरूले ल्याएको मत हो। यो मत कायम राख्न सके सत्ता गठबन्धनका उम्मेदवार तिमल्सिनालाई केही सहज देखिन्छ। तर यो क्षेत्रमा २०४८ सालदेखि दोहोर्याएर कसैले पनि जितेको इतिहास नभएकोले तिमल्सिना पनि ढुक्क हुन सकिरहेका छैनन्।
तिमल्सिना यो क्षेत्रमा तेस्रोपटक उम्मेदवार भएका हुन्। यसअघि २०७४ को चुनावमा एमालेका रामकुमार भट्टराईलाई उनले हराएका थिए। हिजोआज उम्मेदवारहरू चुनावी अभियानका क्रममा घरदैलोमा पुगेर आफ्ना कुरा मतदातालाई सुनाइरहेका छन्।