मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जुम्लाको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने भएको छ।
सत्तारुढ दलको गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
प्रतिनिधि सभा क्षेत्र एउटा र प्रदेश सभा क्षेत्र दुइटा रहेको जुम्लामा तीन पदका लागि १३ जना चुनावी मैदानमा छन्।
प्रतिनिधि सभातर्फ ४ जना, प्रदेश सभा क्षेत्र (१) मा १ स्वतन्त्रसहित ३ जना चुनावी मैदानमा होमिएका छन्। प्रदेश सभा क्षेत्र (२) मा १ स्वतन्त्रसहित ४ जना उम्मेदवार छन्।
विसं २०६४ मा नेकपा माओवादी केन्द्र, २०७० मा नेपाली कांग्रेस र २०७४ माओवादी र एमालेबीच गठबन्धन हुँदा माओवादीले जुम्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन जितेको थियो।
विसं २०७४ मा एक प्रदेशसभा माओवादी र एक एमालेले जितेका थिए। पाँच वर्षअघिको संसदीय चुनावमा एमाले–माओवादी र कांग्रेस–राप्रपाले तालमेल गरेका थिए।
गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा कांग्रेसले पाँच पालिकाको प्रमुख, तीन उपप्रमुखसहित २६ वडाध्यक्ष जितेको थियो।
माओवादी केन्द्रले दुइटा पालिका प्रमुख, ४ उपप्रमुख, १९ वडामा अध्यक्ष जितेको छ। एकीकृत समाजवादीले एक पालिकाको उपाध्यक्षसहित ६ वडाध्यक्ष जितेको छ।
एमालेले कुनै पनि पालिकाको अध्यक्ष र उपाध्यक्ष जित्न सकेन। ६० वडामध्ये छ वडाध्यक्ष मात्रै एमाले जितेको थियो। राप्रपाले कुनै वडाध्यक्ष जितेको छैन।
एक पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। वडाध्यक्षको मत हेर्दा कांग्रेसको ८ हजार ६ सय ५५, माओवादीको ६ हजार ४ सय ३९, एमालेको २ हजार एक सय ५७ र एकीकृत समाजावादीको १ हजार पाँच सय ९६ मत छ। राप्रपाको ५ सय ४० मत रहेको छ।
प्रतिनिधि सभामा त्रिपक्षीय प्रतिस्पर्धा:
प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनबाट माओवादीका गोमा गौतम कुँवर, एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले पनि चुनावी मैदानमा छन्।
विसं २०७० को चुनावमा माओवादी केन्द्रबाट सामानुपातिक सांसद हुँदै पशुपन्छी विकास राज्यमन्त्रीसमेत भएकी गौतमलाई यसपालि सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ।
गठबन्धनसँग एकल प्रतिस्पर्धा गर्न एमालेले प्रतिनिधि सभा सदस्यका लागि जिल्ला पार्टी इञ्जार्च तथा केन्द्रीय सदस्य तिला गाउँपालिकाका पूर्वअध्यक्ष योगीलाई चुवानी मैदानमा खडा गरेको छ।
विसं २०७४ मा एक मात्र स्थानीय तह जितेको एमालेले गत वैशाख ३० मा भएको स्थानीय चुनावमा कुनै पनि पालिका जितेको छैन।
प्रतिनिधि सभा सदस्यको चुनावमा होमिएका राप्रपाका पार्टी प्रवक्ता शाही सत्ता गठबन्धनका र एमालेका उम्मेदवारलाई चुनावबाट हराउन खोजिरहेका छन्। उनले उम्मेदवारी दिएसँगै जुम्लाको चुनावी लेखाजोखा राष्ट्रियस्तरमै सुरु भएको छ।
गाउँ पसे उम्मेदवार:
राजनीतिक दलका नेता र उम्मेदवार ग्रामीण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षणमा जुटेका छन्।
निर्वाचन आचारसंहिताले सभा, माइकिङमार्फत भड्किलो प्रचारप्रसारमा कडाइ गरेपछि प्रचारशैली फेरिएको छ। उम्मेदवारलाई जिताउन घरदैलो गरेर मतदाता भेटघाट र कार्यकर्ता भेला गरी प्रशिक्षण तथा परिचालनमार्फत चुनाव प्रचार गर्न उम्मेदवार गाउँ केन्द्रित हुन थालेका छन्।
निर्वाचन आयोगले कात्तिक १७ गतेपछि मात्र चुनावीसभा गर्न पाउने आचारसंहिता बनाएपछि अहिले जिल्ला तहका नेता चुवानी सभालाई सम्बोधन गर्ने गाउँ केन्द्रित भएका छन्।
मतदाता भेटघाटसँगै टोलटोलमा कार्यकर्ता भेला गरी प्रशिक्षण दिएर परिचालन गरेपछि चुनावी रौनक थप बढेको छ। सभाका क्रममा पुग्न नसकिने टोल तथा भौगोलिकरूपमा विकट क्षेत्रका बस्तीमा घरदैलो कार्यक्रममा राजनीतिक दल लागि परेका छन्।
मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्ने, आफ्नो प्रतिबद्धता सुनाउने कार्यकर्ता भेला गरेर मतदातालाई आकर्षित गर्ने रणनीति बनाउनमा राजनीतिक दलका उम्मेदवार केन्द्रित भएका छन्।
बागीकै डर:
प्रदेश सभातर्फ २ निर्वाचन क्षेत्र रहेको जुम्लामा (१) मा गठबन्धनबाट कांग्रेसका ललितजङ्ग शाहीविरुद्ध सोही दलबाट देवेन्द्रबहादुर शाहीले बागी उम्मेदवारी दिएका छन्।
ललितजङ्ग २०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए भने देवेन्द्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादीका गजेन्द्रबहादुर महतसँग हारेका थिए।
कांग्रेसले टिकट नदिएपछि देवेन्द्र प्रदेश सभामा बागी बनेका छन्। प्रदेश (१) मा एमालेका जिरेन्द्रराज गिरी र नेमकिपाका राजेश्वर देवकोटा पनि चुनावी मैदानमा छन्।
प्रदेश सभा क्षेत्र (२) गठबन्धनबाट एकीकृत समाजवादीका पदमबहादुर रोकाया चुनावी मैदानमा छन्। उनी ०७४ को प्रदेशसभा निर्वाचनमा एमालेबाट विजयी भएका थिए। रोकाया हाल कर्णाली प्रदेशका भौतिक तथा सहरी विकासमन्त्रीसमेत छन्।
प्रदेश सभा क्षेत्र (२) मा पनि गठबन्धनले बागी भोग्दै छ। कांग्रेसका धनबहादुर बस्नेतले बागी उम्मेदवारी दिएका छन्। राप्रपाका देवप्रसाद न्यौपाने र नेमकिपाका बृखबहादुर रावत पनि (२) बाट चुनावी मैदानमा छन्।
८ वटा स्थानीय तह रहेको जुम्लामा ८३ मतदानस्थल र एक सय छ मतदान केन्द्र छन्। यहाँ कूल मतदाता ६८ हजार छ सय ३८ जना रहेको छ।
प्रदेश सभा क्षेत्र (१) को मतदाता ३६ हजार सात सय ८३ जना, प्रदेश सभा क्षेत्र (२) मा ३१ हजार आठ सय ५५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ।