गृहमन्त्री बालकृष्ण खाणले बुटवल–भैरहवा–बेलहिया व्यापारिक मार्गमा मेट्रो ट्रेन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने महत्वकांक्षी योजना अगाडि सारेका छन्।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा रूपन्देही क्षेत्र नं. ३ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका खाणले मुलुककै दोस्रो ठूलो भन्सार नाका, अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर भैरहवा क्षेत्रमा मेट्रो ट्रेन सञ्चालनको योजना अगाडि सारेको बताएका छन्।
निर्वाचनको मिति नजिकिएसँगै मतदाताको घर-घरमा पुगिरहेका खाणले रोजगारीमा स्थानीयलाई प्राथमिकता र सिद्धार्थनगर नगरपालिका वरपर ‘सिद्धार्थ चक्रपथ’ निर्माण पनि आफ्नो महत्वपूर्ण योजना रहेको बताएका छन्।
‘परम्परादेखि सीमानामा रहेर धेरै सम्भावना बोकेको सहर भएर पनि भैरहवाले व्यवस्थित विकासका लागि लामो समय पर्खिनुपर्यो, अब भैरहवाले व्यवस्थित सहरीकरण र विकासका लागि पर्खिनुपर्दैन,’ भैरहवामा आयोजित कार्यक्रममा खाणले भने।
उनले लुम्बिनीको प्रवेशद्वारको रूपमा रहेको भैरहवालाई आधुनिक सहरका रूपमा विकास गरिने र त्यसको नेतृत्व आफूले गर्ने बताए।
२०४८ सालदेखि रुपन्देही जिल्लाको क्षेत्र नं. ३ बाट संसदमा प्रतिनिधित्व गर्दै आएका खाण यसपटक पनि क्षेत्र नंं ३ बाटै उम्मेदवार छन्। तर क्षेत्र विभाजन भएको कारण भैरहवा क्षेत्रबाट उम्मेदवार बनेको भने खाणको पहिलो अनुभव हो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाणले अब भैरहवा केन्द्रित बनेर राजनीति गर्ने र ठूला विकास आयोजना पनि भैरहवा केन्द्रित गरिने बताए।
‘जे कुरा संकल्प पत्रमा ल्याएका छौं, त्यो पूरा गरेरै छाड्छौं,’ मन्त्री खाण भन्छन्, ‘भैरहवा मात्र होइन रूपन्देहीको समग्र विकासका लागि हामी प्रतिबद्ध छौं।’
खाणले भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण औद्योगिक, व्यापारिक एवं पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने बताए।
‘नेपालको एउटा आधुनिक, उत्कृष्ट, सुविधा सम्पन्न र उदाहरणीय जिल्ला, क्षेत्र र भैरहवा बनाउने हाम्रो संकल्प छ’, गृहमन्त्री खाणले भने, ‘यसलाई मूर्तरूप दिन हामीलाई सबैले साथ र सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं।’
क्षेत्र नं. ३ कृषि उत्पादनका हिसाबले जिल्लाकै अब्बल क्षेत्र रहेकोले भैरहवामा लुम्बिनी प्रदेशकै सबभन्दा ठूलो ‘अन्न भण्डारण गृह’ निर्माण तथा बिउ–विजनको अनुसन्धान केन्द्र सञ्चालनका लागि आफ्नो पहल रहने बताए।