मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले चुनाव प्रचार गर्न विभिन्न ठाउँमा प्रहरी, प्रशासनले आफूलाई रोक्ने गरेको बताएका छन्।
चुनाव प्रचारका क्रममा सोमबार डडेल्धुरा बसपार्कलगायत ठाउँमा प्रहरीले रोकेकोमा आफू र स्थानीयले विरोध गरेपछि प्रशासन पछि हटेको उनको भनाइ छ।
‘चुनाव प्रचार गर्न मलाई डडेल्धुरा प्रशासनले विभिन्न ठाउँमा अवरोध गरेका छन्। पहिले मलाई सिडिओले राष्ट्रिय झण्डा ओढेर चुनाव प्रचारमा नजाऊ भनेका थिए। पछि कानून हेरेपछि राष्ट्रिय झण्डा लिन पाइन्छ भनेर बोक्न दिए,’ ढकालले सेतोपाटीसँग भने, ‘सोमबार माइकिङ गर्न प्रहरीले रोक्यो, विरोधपछि माइकिङ गरी प्रचार गर्न दिएका छन्।’
मोटरसाइकलमा चढेर चुनाव प्रचारका लागि माइकिङ गर्दैगर्दा ढकाललाई प्रहरीले रोकेको थियो। प्रहरीले आचारसंहिता उल्लघन हुने बताउँदै ढकाललाई माइकिङ नगर्न भनेको थियो। ‘डाँडामा गएर माइकिङ नगर्न पनि प्रहरी, प्रशासनले भन्दै आएको छ,’ उनले भने।
सोमबार साँझ स्थानीयसहितले प्रहरी प्रशासनको विरोध गरेपछि आफूलाई चुनाव प्रचार गर्न दिइएको ढकाल बताउँछन्। सोमबार अपरान्ह ढकाल र उनीपक्ष तथा प्रहरीबीच विवाद पनि भएको थियो।
ढकाल पक्षले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उम्मेदवार भएको डडेल्धुरामा आचारसंहिता विपरीत घरदेखि गाडीहरूमा चुनाव चिन्ह रूखअंकित झण्डा जतासुकै राखिएकोले हटाउन आग्रह गरेका थिए। आचारसंहिताको कारबाही गर्ने भए रूखअंकित झण्डा पहिले हटाउन ढकाल पक्षका युवाहरूले प्रहरीलाई भनिरहेको भिडिओ पनि सार्वजनिक भएको छ।
प्रधानमन्त्री देउवाले हेलिकप्टर प्रयोग गर्न हुने तर आफूहरूले माइकिङ गर्न पनि नपाउने भन्दै ढकालले पनि प्रहरीलाई प्रश्न गरेका थिए। प्रधानमन्त्री देउवा हेलिकप्टरमा डडेल्धुरा पुगेर सात ठाउँमा चुनावी आमसभा गरेर फर्किएका थिए।
‘शेरबहादुर देउवा चढेको हेलिकप्टरको आवाजले कान फुट्न हुन्छ अनि यसले (माइकिङ) ले सुन्न हुन्न?,’ ढकालले प्रहरीलाई प्रश्न गरे, ‘डडेल्धुरामा राणा शासन छ। हिँड्न पनि दिँदैनन्, केही गर्न दिँदैनन्। तपाईंहरूले स्वतन्त्रताका लागि लड्नुपर्छ।’
आफूलाई जहिले पनि प्रहरी प्रशासनले माइक प्रयोग नगर्न भनिरहेको ढकालले बताए।
‘मलाई जहिलेसुकै माइक प्रयोग नगर भन्छन्। माइकको आवाजदेखि यिनीहरू डराउँछन्। प्रश्न र आवाजदेखि डराउँछन्। मुख टालेर बस भन्छन्,’ ढकालले भने।
डडेल्धुरा प्रशासनले भने चुनावी प्रचार गर्न कसैलाई नरोकिएको बताएको छ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत हेमप्रसाद ढकालले सोमबार साँझ विज्ञप्ति निकालेर आचारसंहिता पालना गरेर गरिने प्रचार कार्यमा अवरोध नहुने उल्लेख गरेका छन्।
‘उम्मेदवारको प्रचार कार्यमा स्थानीय प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको र रोक नलगाइएको सबैलाई जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।
डडेल्धुरामा एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र छ। यहाँ स्वतन्त्रबाट ढकाल र प्रदेशमा महेशसिंह धामी पनि उम्मेदवार छन्।