गोरखामा सत्ता गठबन्धनका उम्मेदवारविरूद्ध भोट मागेको आरोप लागेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जा मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका छन्।
मुख्यमन्त्री पोखरेलले ऊर्जा मन्त्रालय आफैँसँग राखेको प्रदेश प्रमुख कार्यालयमा पठाएको पत्रमा उल्लेख छ।
आचार्य बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका निवर्तमान सांसद हुन्। २०७४ मा गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र (क) बाट तत्कालीन नयाँ शक्तिका आचार्य निर्वाचित भएका थिए।
आचार्य यसपालि पनि सोही प्रदेश सभा क्षेत्रमा उम्मेदवार हुन चाहन्थे। तर माओवादीको चुनाव चिन्ह हँसिया हतौडामा उठ्ने गरी समाजवादीले फणिन्द्र देवकोटालाई टिकट दियो। यसपछि रूष्ट मन्त्री आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
अध्यक्ष बाबुराम भट्टराई लगायतको दवावपछि आचार्यले उम्मेदवारी फिर्ता लिएका थिए। तर उनी सत्ता गठबन्धनका उम्मेदवारका पक्षमा खुलेर नलागेको आरोप लाग्न थाल्यो।
गोरखास्थित समाजवादी पार्टी, माओवादी केन्द्रका जिल्लास्तरीय नेताहरूले आचार्यले सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको र भित्रभित्रै अरू पार्टीलाई सहयोग गरिरहेको ‘सुइँको पाएपछि’ उनलाई मन्त्रीबाट हटाउन दवाव दिएका थिए।
समाजवादी र माओवादी गोरखाका नेताहरूले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष एवं गोरखा २ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड र समाजवादीका अध्यक्ष भट्टराई र गण्डकीका मुख्यमन्त्री पोखरेललाई सत्ता गठबन्धनका उम्मेदवारलाई असहयोग गरेका मन्त्री आचार्यलाई बर्खास्त गर्न केही दिनदेखि निरन्तर दवाव दिँदै आएका थिए।
समाजवादी गोरखाका एक नेताका अनुसार मन्त्री आचार्यले आफ्नै सहकर्मीसमेत रहेका नेता फणिन्द्र देवकोटालाई हराउनका लागि भूमिका खेलिरहेको सूचना पार्टीलाई प्राप्त भएको थियो।
‘आफ्नै उम्मेदवारलाई हराउन भूमिका खेलेपछि उहाँलाई मन्त्रीबाट बर्खास्त गर्न हामीले अध्यक्ष बाबुराम भट्टराईलाई पनि भनेका थियौं,’ ती नेताले भने, ‘आफूले टिकट नपाएपछि उहाँले जसरी पनि देवकोटालाई हराउँछु भन्दै चलखेल गर्नुभयो।’
आचार्यले असहयोग गरिरहेको भन्ने सूचना समाजवादीलाई जस्तै माओवादी गोरखालाई पनि आएको थियो। माओवादीका एक जिल्ला नेताले सत्ता गठबन्धनका उम्मेदवारविरूद्ध भोट मागे पछि आचार्यलाई मन्त्रीबाट हटाउन नेतृत्वलाई भन्नुपर्ने अवस्था आएको बताए।
‘एक दिन भने पनि आचार्यलाई मन्त्रीबाट बर्खास्त गर्नुस् भनेर मैले मुख्यमन्त्रीलाई पनि भनेको थिएँ। यो कुरा हामीले बाबुराम र प्रचण्डको कानसम्म पनि पुर्याएका थियौं,’ माओवादीका ती नेताले भने, ‘आचार्यलाई आज मुख्यमन्त्रीले बर्खास्त गरे? त्यसो हो भने धन्यबाद छ। बरू पत्र छ भने मलाई पठाइदिनुस् न!’
मन्त्री आचार्यले गोरखा २ प्रतिनिधि सभामा प्रचण्डविरूद्ध अन्य पार्टीका उम्मेदवारहरूलाई मत मागेको आरोप छ।
‘सत्ता गठबन्धनका उम्मेदवार समाजवादी पार्टीका फणिन्द्र देवकोटाविरूद्ध नेकपा एमालेका उम्मेदवार राजु रानालाई मत मागेको र प्रचण्डविरूद्ध गोरखा २ प्रतिनिधि सभामा घण्टीका पक्षमा मत मागेको सूचना हामीले पाएका हौं,’ ती नेताले भने, ‘प्रचण्डविरूद्ध लागेर त उनले केही गर्न सक्दैनथे। पहरोमा कुहिनो ठोकेजस्तै भइहाल्यो। तर देवकोटालाई असर पुर्याउन सक्छन् कि भनेर उनलाई बर्खास्त गर्नुपर्यो।’
आचार्यनिकट गोरखाका एक नेताका अनुसार उनीहरू प्रचण्डलगायत सत्ता गठबन्धनका उम्मेदवारका पक्षमा मत माग्न लागेका छैनन्। ‘आचार्यलाई बाबुरामकै निर्देशनमा बर्खास्त गरिएको छ। बर्खास्तै गरिसकेपछि अब बाध्य भएर पनि अन्य उम्मेदवारका पक्षमा मत माग्न हिँड्नुपर्यो नि!,’ ती नेताले भने। आचार्यलाई बर्खास्ती लगायतबारे जानकारी लिन टेलिफोन गर्दा सम्पर्क हुन सकेन।
गोरखामा स्थानीय चुनावदेखि नै बाबुराम नेतृत्वको पार्टीभित्र विवाद देखा परेको थियो। झन् बाबुरामले नेपाल समाजवादी पार्टी गठन गर्दै उक्त पार्टीको चिन्ह आँखा छाडेर हँसिया हतौडाबाटै पार्टीका नेताहरूलाई उम्मेदवारी दिने निर्णय गरे, त्यसपछि झन् आन्तरिक विवाद बढ्दै गएको थियो।
बाबुरामले राम्रोसँग पार्टी हाँक्न नसकेको र पार्टीलाई माओवादीमै बिलय गराउन खोजेकोमा गोरखामा सानो समूह असन्तुष्ट छ। प्रचण्डले पार्टी राम्रोसँग चलाउन सकेनन् भनेर विगतमा बाबुरामसँग लागेकाहरू अहिले फेरि बाबुराम प्रचण्डसँग निकट भएपछि आफूहरूको राजनीतिक भविष्य बिग्रने ठानेर असन्तुष्ट छन्।