मोरङ क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) का उम्मेदवार शेखरचन्द्र थापाको निधन भए पनि त्यहाँ निर्वाचन नरोकिने भएको छ।
आयोगले आजैबाट उम्मेदवार मनोनयन प्रक्रिया अघि बढाउने प्रवक्ता शालिग्राम पौडेलले बताएका छन्।
‘निर्वाचन हुनु सात दिनअघिसम्म उम्मेदवारको मृत्यु भएमा त्यहाँ निर्वाचन रोकिँदैन। आयोगले उम्मेदवार मनोनयनको प्रक्रिया छिट्टै सार्वजनिक गर्नेछ। त्यहाँ निर्वाचन रोकिने छैन,’ पौडेलले भने।
असोज २३ गते उम्मेदवारी दर्ता गराएका थापा असोज २४ गते बिरामी भएका थिए।
काठमाडौँको ह्याम्स अस्पतालमा निमोनियाको उपचार गरी फर्किएका थापा विराटनगरको नोबेल अस्पतालमा फेरि भर्ना भएका थिए।
थापाको बुधबार बिहान उपचारकै क्रममा निधन भएको हो। थापा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए। उनी प्रदेश १ को वन मन्त्रीसमेत थिए।