नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले जनता अल्मल्याउने काम मात्रै गरेको बताएका छन्।
झापामा आज भएको चुनावी सभामा बोल्दै उनले फरक-फरक घोषणापत्र ल्याएर गठबन्धनले जनतालाई अल्मलमा पारेको बताएका हुन्।
‘कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी (एस) को छुट्टाछुट्टै घोषणा पत्र छ। कुन घोषणा पत्र लागू हुने हो?,' ओलीले भने, ‘यो जनतालाई अलमलमा पार्ने काम मात्रै हो, यो बुझेर नै जनतालाई गठबन्धनभन्दा अघि 'ठ' लाई राखेर भन्ने गरेका छन्।’
मुलुकमा गठबन्धनभन्दा पनि सुदृढ राष्ट्रिय शक्ति आवश्यक पर्ने उनले बताए।
‘खपटा-खपटा जोडेर बनेको होइन, सुदृढ राष्ट्रिय शक्ति आवश्यक छ। त्यसका लागि मत जोगाउनुस र बढाउनुस्,’ ओलीले भने।
मंसिर ४ को निर्वाचनमा एमालेलाई विजयी गराउन उनले मतदातालाई अपिल गरेका छन्।
मुलुकको समृद्धि र स्थायित्वका लागि एमाले सरकार आवश्यक रहेको उनको भनाइ छ।