सेतोपाटी चुनावी विश्लेषण:
झापाको कचनकवल गाउँपालिका-५ को नयाँहाटमा एउटा सानो चोक छ। त्यो चोकको बीचमा ठडिएको छ, दायाँ हातको चोर औंला उठाइरहेका पृथ्वीनारायण शाहको सालिक। २०६५ जेठमा गणतन्त्र घोषणा भएपछि यसरी बजारको कुनै चोकमा राजाको सालिक ठडिएको यो नै नेपालको पहिलो घटना होला!
२०७४ को चुनावमा झापा-३ बाट सांसद निर्वाचित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो क्षेत्रमा पर्ने यो ठाउँमा पृथ्वीनारायण शाहको सालिक बनाउन लगाएका हुन्।
'सांसद भएपछि लिङ्देनले १० लाख रूपैयाँ खर्च गरेर पूराना राजाको सालिक बनाए। त्यो पैसा बरू यहाँका जनतालाई सुविधा दिन खर्च गरेको भए पनि हुन्थ्यो नि,' सालिकको छेउमा फर्निचर उद्योग चलाउने नेपाली कांग्रेसका कार्यकर्ता महादेव शर्माले सेतोपाटीसँग भने, 'यस्ता राजावादीलाई अघिल्लोपटक कम्युनिस्टहरू मिलेर जिताए। यसपालि कृष्ण दाइ (कृष्णप्रसाद सिटौला) लाई जिताउनुपर्छ।'
नयाँहाटदेखि केही किलोमिटरको दुरीमा पर्छ, बनियानी बजार। बजारमा सुन पसल चलाउँछन्- २८ वर्षका इमेश लोहागुन। उनलाई सांसद भएपछि लिङ्देनले यो क्षेत्रमा सक्नेजति विकास गरेका छन् भन्ने लाग्छ।
'पाँच वर्षअघिको चुनावमा यो बाटो पूरै धुलाम्य थियो। अहिले हेर्नुस् त भारतको बोर्डरसम्मै पिच छ। यो काम राजेन्द्र लिङ्देनको पाला भएको हो,' पसल अगाडिको बाटो देखाउँदै उनले भने, 'उहाँले गाउँठाउँमा पनि बाटो बनाउनुभएको छ। बाढीले सताउने मेचीमा तटबन्ध लगाउनुभएको छ। हात्ती आउने जंगलमा तारबार गर्नुभएको छ। म त यसपालि पनि उहाँलाई नै भोट दिने हो।'
कांग्रेस समर्थक भने यी सबै काम लिङ्देनका पालामा पूरा भए पनि योजना तर्जुमा र बजेट विनियोजनदेखि ठेक्काको कामसमेत सिटौलाकै पहलमा भएको दाबी गर्छन्।
सत्ता गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला र एमाले-राप्रपा गठबन्धनबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच तीव्र प्रतिस्पर्धा रहेको झापा क्षेत्र नम्बर ३ को चुनावी चर्चा र बहस महादेव र इमेशले भनेजस्तै विषय र एजेन्डा वरिपरि घुमिरहेको छ।
तत्कालीन नेकपा (माओवादी) सँगको शान्ति वार्तादेखि राजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबारबाट नागार्जुन जाने वातावरण बनाउनमा महत्वपूर्ण भूमिका खेलेका सिटौला र तत्कालीन राष्ट्रवादी विद्यार्थी मण्डलको नेता हुँदै अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा आसिन राजतन्त्र र हिन्दु राष्ट्रका पक्षपाती लिङ्देनबीचको यो प्रतिस्पर्धामा विचारधारा र पूर्वाधार विकासको बहस एकातिर छ भने अर्कातिर फेरिएका गठबन्धन, उनीहरूको व्यक्तिगत स्वभाव र सत्तासीनप्रतिको वितृष्णाले पनि भूमिका खेलिरहेको छ।
झापा-३ को चुनावी माहौल बुझ्न र त्यसको विश्लेषण गर्न सेतोपाटी टिमले यो क्षेत्रका साढे २ सयभन्दा बढी मतदातासँग कुराकानी गरेको छ। मतदातासँग कुरा गर्न हामी झापा सदरमुकाम रहेको भद्रपुर नगरपालिकाका १ देखि ८ नम्बरसम्मका वडा, बिर्तामोड नगरपालिकाको वडा नम्बर १० र कचनकवल, बाह्रदशी र हल्दीवारी गाउँपालिकाका सबै वडामा पुगेका छौं।
हामीले कुराकानी गरेका २५१ जना मतदातामध्ये ९५ जना अर्थात् झन्डै ३८ प्रतिशतले मंसिर ४ को चुनावमा सिटौलालाई मत दिने बताए। लिङ्देनलाई मत दिन्छु भन्ने मतदाताको संख्या ८४ जना अर्थात् झन्डै साढे ३३ प्रतिशत छ।
यसबाहेक ५० जना मतदाता (झन्डै २० प्रतिशत) ले आफूले कसलाई मत दिन्छु भन्ने बताउन सकेनन्। उनीहरूमध्ये केहीले कसलाई भोट हाल्ने भन्ने अझै टुंगो लगाउन सकेका छैनन् भने केहीले निर्णय गरे पनि अहिल्यै भन्न नमिल्ने बताएका छन्।
त्यस्तै हामीले भेटेका २५१ जना मतदातामध्ये रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिह्नमा भोट हाल्छु भन्नेहरू १२ जना अर्थात् झन्डै ५ प्रतिशत थिए। लौरो चिह्नका उम्मेदवार र बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएकालाई भोट दिन्छु भन्ने मतदाताको संख्या १० जना अर्थात् झन्डै ४ प्रतिशत छ।
पाँच वर्षअघि यो क्षेत्रमा खसेको कुल सदर मत ७८९३२ मध्ये लिङ्देनले ४४६१४ अर्थात् साढे ५६ प्रतिशत मत पाएका थिए भने सिटौलाले ३११७१ अर्थात् साढे ३९ प्रतिशत मत ल्याएका थिए। यो क्षेत्रमा पार्टीको बलियो सांगठनिक उपस्थिति भएका र राष्ट्रिय राजनीतिमा चिनिएका नेता भएकाले सिटौला र लिङ्देनका समर्थक र विरोधी उस्ताउस्तै छन्।
हामीले कुराकानी गरेका मतदाताको रूझान हेर्दा झापा-३ मा यसपालि लिङ्देनले २०७४ मा पाएको मत चुहिँदै गएको र सिटौलाले उनीसँगको मतान्तर घटाउँदै केही मत आफ्नो पक्षमा थपिरहेको देखिन्छ। तर सिटौलाले चुनाव जित्ने गरी आफ्नो मत बढाउन सकेका छन् वा छैनन् त्यो मुख्य प्रश्न हो। हामीले कुरा गरेका मतदाताको रुझान हेर्दा कसलाई मत दिने भन्ने अहिलेसम्म निर्णय गरिनसकेका मतदातानै अन्तिम मतपरिणाममा निर्णायक हुनेछन्।
अब हेरौं, सिटौलाको मत किन बढ्दै र लिंङदेनको चुहिँदै गएको छ।
यसो हुनुका केही कारण छन्।
पहिलो, फेरिएको गठबन्धन। पाँच वर्षअघिको चुनावमा माओवादी केन्द्र र एमाले दुवैले लिङ्देनलाई समर्थन गरेका थिए। यसपालि माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन बनेको छ। गएको स्थानीय चुनावमा वडाध्यक्ष उम्मेदवारहरूले पाएको मतलाई आधार मान्दा यो क्षेत्रमा माओवादी केन्द्रसँग झन्डै पाँच हजार (४८३५) मत छ। फेरिएको गठबन्धनका कारण पहिला लिङ्देनले पाएको त्यो माओवादी मत यसपालि सिटौलालाई जाने देखिन्छ।
'अघिल्लो चुनावमा त्यस्तै परिस्थिति थियो। लिङ्देनलाई भोट दिइयो,' कचनकवल गाउँपालिकाका वाइसिएल अध्यक्ष श्याम घिमिरेले भने, 'यसपालि कांग्रेससँग गठबन्धन छ, सिटौलालाई दिनुपर्छ। उति बेला ठ्याक्कै विपरीत विचारका लिङ्देनलाई त मत दिइयो भने यसपालि सिटौलालाई नदिने भन्ने कुरा हुँदैन।'
दोस्रो, एमालेभित्रको असन्तोष। गत स्थानीय चुनावमा वडाध्यक्ष उम्मेदवारले पाएको मतलाई आधार मान्ने हो भने एमालेले पनि यो क्षेत्रमा कांग्रेसपछि राप्रपाकै हाराहारीको ठूलो पार्टी हो। यो क्षेत्रका स्थानीय तहको चुनावमा कांग्रेस वडाध्यक्ष उम्मेदवारहरूले २५९४९, एमालेले २१०८५ र राप्रपाले २११५९ मत पाएका थिए।
राप्रपाका लिङ्देनलाई चुनाव जित्न एमालेको ठूलो मत नभई हुँदैन। पाँच वर्षअघि जस्तो यसपालि एमालेको मत सर्लक्कै लिङ्देनलाई नजान पनि सक्छ।
वर्षौंसम्म पार्टीको संगठन बनाउन खटिएका केही एमाले कार्यकर्ता लगातार दुई पटकसम्म संसदमा आफ्नो उम्मेदवार नपाएर रूष्ट छन्। कार्यकर्ता रूष्ट भएको कुरा एमाले नेतृत्वलाई पनि थाहा छ। कात्तिक ११ गते झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले लिङ्देनलाई भोट माग्दै भनेका थिए- एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनले जित्नुपर्छ।
ओलीले भनेजस्तै धेरै एमाले कार्यकर्ता यसपालि पनि लिङ्देनलाई भोट हाल्न तयार छन्। लिङ्देनसँग राजनीतिक विचारधारा र सिद्धान्त मिलेर होइन, कांग्रेसलाई हराउन भए पनि उनलाई भोट दिन लागेको बाह्रदशी-२ का एमाले कार्यकर्ता ध्रुव निरौलाले बताए।
'एमालेको प्रमुख शत्रु कांग्रेस हो, राप्रपा त होइन। हामीले यहाँ लिङ्देनलाई भोट दिएनौं भने त संसदमा कांग्रेसको एक सिट बढ्छ,' उनले भने, 'कांग्रेसको एक सिट कम गराउन हामी लिङ्देनलाई भोट दिँदैछौं। उहाँको सिद्धान्तसँग त हामीलाई के मतलब भयो र, पार्टी एकीकरण गर्न लागेको हो र! मंसिर ४ सम्म गठबन्धन हुन्छ, त्यसपछि उहाँ आफ्नो बाटो, हामी आफ्नो बाटो।'
सबै एमाले कार्यकर्ताले भने निरौलाजसरी सोचेका छैनन्।
एमाले झापा कमिटीका पूर्वसचिवालय सदस्य डम्बरबहादुर गिरीले यसपालि बागी उम्मेदवारी दिएका छन्। २०७४ मा हल्दीवारी गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भएका गिरी २०७९ को चुनावमा गाउँपालिका अध्यक्षमा लडेका थिए। राप्रपाका रवीन्द्र लिङ्देन (राजेन्द्रका भाइ) सँग पराजित भएका गिरीले यसपालि थोरै संख्यामा भए पनि एमालेको भोट लिङ्देनलाई जान नदिन सक्छन्।
भद्रपुर-७ की एमाले कार्यकर्ता अनु आचार्यले यो क्षेत्रमा फेरि पनि पार्टीको उम्मेदवार नहुँदा एमालेजनको मन खुम्चिएको बताइन्। 'राप्रपाका मान्छेले घरदैलो गरौं भनेर बोलाउँछन्, आफूलाई भने जानै मन लाग्दैन,' उनले भनिन्, 'हलोलाई भोट हाल्न मन छैन, कांग्रेसलाई त झन् दिने कुरै भएन। यसपालि कसो पो गर्ने होला हौ। बरू तिनै डम्बर गिरीलाई पो दिनुपर्छ कि क्या हो!'
तर अनुको जस्तो धारणा भएका एमाले समर्थकहरू हामीले यहाँ कम भेट्यौँ। हामीले कुराकानी गरेका मतदातामध्ये जम्मा ४ जनाले डम्बर गिरीलाई भोट हाल्छु भनेका थिए। यस्ता असन्तुष्ट एमालेहरूको सख्या कम देखिए पनि त्यसले राजेन्द्र लिङ्देनलाई एमालेबाट पहिलाकै जति मत नआउने संकेत गर्छ।
एमालेबाट फुटेर बनेको अर्को सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का कोही कार्यकर्ता भने हामीले यो क्षेत्रमा भेटेनौं।
तेस्रो, राप्रपाको एजेन्डा।
लिङ्देन नेतृत्वको राप्रपा नेपाललाई हिन्दु राष्ट्र र राजतन्त्रात्मक मुलुक बनाउन चाहन्छ। उसको त्यो एजेन्डा यो क्षेत्रमा उल्लेखनीय संख्यामा रहेको मुस्लिम समुदायलाई मन परेको छैन। गणतन्त्रवादी एमालेसँग गठबन्धन गरेका लिङ्देन मुस्लिम समुदायमा भोट माग्न जाँदा धर्म र जातीय कुरा गर्दैनन्, विकास र आफ्नो इमानदारीका कुरा गर्छन्।
२०७४ सालमा लिङ्देनलाई भोट दिएका कचनकवल ३ का ७५ वर्षीय समसुद्धिनले यसपालि मन बदलेका छन्। '०७४ सालमा हामीले गाईलाई भोट हाल्यौं। राजेन्द्र लिङ्देनले खासै विकास केही गरेनन्। उल्टै हिन्दु राष्ट्रको कुरा उचाले,' उनले भने, 'यहाँ हामी हिन्दु-मुस्लिम मिलेर बसेका छौं। उनको कुरा सुन्दा त अहिले भारतमा मुस्लिमलाई जस्तो गरिएको छ, नेपालमा पनि त्यस्तै होला जस्तो लाग्छ।'
तर सबै मुस्लिम मतदाता यस्तो सोच्दैनन्। केचनकवल- ५ नयाँ बस्तीका मोहम्मद खालिक आलमले पहिले लिङ्देनलाई भोट हालेका थिए। उनी यसपालि पनि उनैलाई भोट हाल्ने बताउँछन्। हिन्दु राष्ट्रको सवालमा उनले भने, 'देश पहिले पनि हिन्दु राष्ट्र नै थियो, त्यसले केही असर पर्छजस्तो लाग्दैन। यहाँको समाज भारतको जस्तो असहिष्णु छैन।'
राजतन्त्र फर्काउने विषयमा भने उनले सोझै भने, 'त्यो चाहिँ हुँदैन।' केही मतदाता भने जन्मसिद्ध नागरिकताको विषयलाई लिएर लिङ्देनसँग असन्तुष्ट पनि छन्। हल्दीबारी-१ का शुकल किस्कुले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता नदिन लिङ्देन पनि सहयोगी बनेको बताए।
'हाम्रो यहाँ धेरै जना जन्मसिद्धका सन्तानलाई नागरिकताको समस्या छ। संसदबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले रोकिन् र राजेन्द्र लिङ्देनले त्यसलाई समर्थन गरे,' किस्कुले भने, 'अघिल्लोपटक मैले उनलाई भोट दिएको थिएँ, यसपालि दिन्नँ।'
केही मतदातालाई अघिल्लोपालि सांसद भयो भने केही विकास गर्छ कि भन्ने आशाले लिङ्देनलाई मत दिएको भए पनि उनले खासै काम गर्न सकेनन् भन्ने लागेको छ।
कचनकवल-४ की सज्मी यादवले पहिला राजेन्द्र लिङ्देनलाई मत दिएकी थिइन्। 'लिङ्देन राम्रो मान्छे हो भनेर मत दिएँ। उनका यहाँका कार्यकर्ता ठिक रहेनछन्,' उनले भनिन्। २०७४ को स्थानीय चुनावमा कचनकवल गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित बहुमत जनप्रतिनिधि राप्रपाका थिए। उनीहरूको कार्यशैली आफूलाई ठिक नलागेको यादवले बताइन्।
यस्ता विविध कारणले अघिल्लोपटक लिङ्देनलाई भोट दिएका मतदाताले यसपालि फेरि उनैलाई नदोहोर्याउने देखिएका छन्। हामीसँग कुरा गरेका २५१ मध्ये २१ जना मतदाताले अघिल्लोपटक लिङ्देनलाई मत दिए पनि यसपालि उनलाई नदिने बताए। तीमध्ये १९ जनाले यसपालि सिटौलालाई मत दिने भनेका छन्। अघिल्लोपटक लिङ्देनलाई मत दिएका १५ जना मतदाता यसपालि कसलाई दिने भन्नेमा अनिर्णित नै छन्।
यसको अर्थ अर्का प्रतिस्पर्धी सिटौला उनीभन्दा निकै बलियो अवस्थामा छन् भन्ने होइन। एमाले र राप्रपाको मत यो क्षेत्रमा धेरै छ भन्ने २०७४ सालको निर्वाचनले नै देखाएको छ। तुलनात्मक रूपमा यहाँ कमजोर रहेको माओवादी केन्द्रको साथले मात्र सिटौलाले चुनाव जित्न सक्दैनन्। उनले पाँच वर्षअघि लिङ्देनलाई नै मत दिएका थुप्रै मतदाता आफूतिर तान्नुपर्ने छ। उनले तानेका पनि छन् र हामीले कुरा गरेका २५१ जना मतदाताका आधारमा भन्दा उनी केही मत अघि पनि देखिन्छन्। तर निकै प्रतिस्पर्धात्मक देखिएको यो निर्वाचन क्षेत्रको चुनावमा यति मतदातासँग कुरा गरेकै आधारमा कसले जित्छ भन्न सकिन्न।
सिटौलाका लागि सुखद पक्ष भनेको उनले यसअघि लिङ्देनलाई नै मत दिएका मतदाता आफूतिर तानिरहेका छन्। तर उनले तानेको मत जितका लागि पर्याप्त हो कि हैन यकिन छैन।
केही मतदातालाई पटक-पटक सांसद हुँदा पनि यो क्षेत्रको विकासका लागि सिटौलाले केही पनि नगरेको तर राजेन्द्र लिङ्देनले एकपटक सांसद हुँदा पनि धेरै विकास गरेको भन्ने लागेको छ। एक कार्यकालमा लिङ्देन सोचेजस्तो काम गर्न नसकेकाले यसपालि उनलाई दोहोर्याउनुपर्छ भन्ने मतदाता पनि हामीले भेट्यौं।
२०७४ सालमा सिटौलालाई मत दिएका सात जना मतदाताले यसपालि लिङ्देनलाई भोट दिने बताए। पाँच वर्षअघि सिटौलालाई भोट हालेका १४ जना मतदाताले यसपालि कसलाई मत दिने भन्ने टुंगो नभएको बताए।
यो क्षेत्रमा १२ जना मतदाताले रवि लामिछानेको स्वतन्त्र पार्टीलाई मत दिने बताएका छन्। तीमध्ये धेरै जना विदेशमा भएकाले २०७४ को चुनावमा मत हाल्न नपाएका र यसपालि पहिलोपटक मत हाल्न लागेकाहरू छन्। नयाँ पार्टी वा स्वतन्त्रहरूले देशको विकास गर्लान् भन्ने विश्वासले होइन, पुराना दल र तिनका नेताप्रतिको वितृष्णाले उनीहरू त्यस्ता उम्मेदवारप्रति आकर्षित भएका हुन्।
भद्रपुर-३ का श्याम थापा सगरमाथा चोकमा कपाल काट्ने सैलुन चलाउँछन्। कतार, साउदी अरब र मलेसियामा गरी ११ वर्ष वैदेशिक रोजगारमा बिताएका थापाले यसपालि घन्टीमा भोट हाल्ने सोचेका छन्। 'यहाँ घन्टीको उम्मेदवार को छ भन्ने मलाई थाहा छैन। उनीहरूले राम्रो गर्छन् कि गर्दैनन् भन्ने पनि थाहा छैन। तर अहिलेको यो सिस्टम परिवर्तन हुन जरूरी छ,' उनले भने, 'मेरो परिवार कांग्रेसमा आस्थावान् भए पनि यसपालि म नयाँलाई भोट दिन्छु।'
यसरी हेर्दा झापा-३ मा योपटक सिटौला र लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। हामीसँग कुराकानी गरेका मतदातालाई आधार मान्दा सातौंपटक चुनाव लडेका सिटौला २०४८ सालदेखि यो क्षेत्रमा चलिरहेको उनको जित-हारको लुकामारीको सिलसिलालाई यसपालि पनि निरन्तरता दिने दिशामा छन्। कतिपय मतदाताले ७६ वर्षीय सिटौलाको यो अन्तिम चुनावी प्रतिस्पर्धा हुने ठानेका छन्। त्यसको केहि सहानुभुति पनि सिटौलालाई छ।
भद्रपुर-६ आदर्शनगरका ५५ वर्षीय बुधारू राजवशी कांग्रेसका नियमित मतदाता हुन्। उनले पहिले लगातार सिटौलालाई भोट दिए। अघिल्लोचोटि भने उनले लिङ्देनलाई रोजे। यसपालि फेरि उनी सिटौलालाई नै भोट दिने पक्षमा छन्।
'सिटौलाको निम्ति यो अन्तिम चुनाव हुनसक्छ। त्यसैले पहिले सधै भोट दिइरहेकाले यसपालि पनि उनैलाई दिने सोच बनाएको छु,' उनले भने।
बुधारूले भनेजस्तै सम्भवत आफ्नो राजनीतिक करिअरको अन्तिम चुनावी लडाइँमा जित हात पार्न सिटौला सफल हुन्छन् कि उनीभन्दा झन्डै २० वर्ष कान्छा लिङ्देनले लगातार दोस्रो जित दर्ज गरेर यो क्षेत्रका निम्ति इतिहास रच्छन् भन्ने अहिलेसम्म अनिर्णित रहेका मतदाताको हातमा छ। ती अनिर्णित मतदाताको ठूलो सख्या चुनावको दिनसम्म जतातिर ढल्किन्छ, झापा-३ को नतिजा तिनै उम्मेदवारको पक्षमा पर्नेछ।
सेतोपाटी निर्वाचन विश्लेषणः
सेतोपाटी निर्वाचन विश्लेषणः ५ - राजेन्द्र लिङ्देनको भोट चुहिइरहेको र कृष्ण सिटौलाको थपिँदै गएको झापा-३ मा को बलियो?
सेतोपाटी निर्वाचन विश्लेषणः ४ - चुनाव आइसक्यो, काठमाडौं-१ अझै अनिर्णीत
सेतोपाटी निर्वाचन विश्लेषणः ३ - बाँके-२ मा राजा र मन्त्रीबीच 'काँटेका टक्कर'
सेतोपाटी निर्वाचन विश्लेषण: २- चितवन-२ मा रवि लामिछाने निर्वाचित हुने सम्भावना प्रबल
सेतोपाटी निर्वाचन विश्लेषण: १- एमालेका सुरेन्द्र पाण्डे 'रेड जोन' मा, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा