विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफूहरूको राजनीति मंसिर ४ मा नसकिने बताएकी छन्।
लोकतन्त्रमा दलको आवश्यकता हुने र त्यो स्वतन्त्र एक व्यक्तिबाट पूरा नहुने उनले बताइन्।
‘कतिको राजनीति त मंसिर ४ पछि सकिइराखेको हुन्छ। तर विवेकशीलको राजनीति मंसिर ४ मा सकिँदैन, दलको आवश्यकता व्यक्ति हुन सक्दैन,’ इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘लोकतन्त्रमा दल चाहिन्छ। सबै स्वतन्त्र समेट्ने ठूलो फोरम विवेकशील साझा बन्छ।’
स्वतन्त्र वा नयाँ पार्टी आएर पुराना पार्टी वा उम्मेदवारलाई चुनौती दिइरहेकोमा विवेकशील साझा खुसी रहेको टिप्पणी उनको थियो।
‘राजनीतिक सिण्डिकेट तोड्नका लागि र नागरिकका आवाज उठाउनका लागि हो भने तपाईंलाई मंसिर ४ पछि विवेकशील साझा स्वागत गर्न तयार छ,’ उनले भनिन्, ‘आउनुहोस्, एकढिक्का भएर अघि बढौं।’
उनले विवेकशील साझाले यसबीचमा बाटो विराएको पनि बताइन्। तर अहिले सच्चिएर अघि बढेको उनको भनाइ थियो।
पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले परम्परागत दलहरूलाई धावा बोल्ने सहास सुरूमा विवेकशील साझाले नै गरेको बताए।
‘निर्वाचनको मुखमा हामीले संक्रमण भोग्यौं तर अहिले पार भइसकेको छ। अहिले फेरि पार्टी स्थापित छ। पूर्वअध्यक्षले पार्टी उतै लगे कि भन्ने भ्रम हामीले चिरेका छौं,’ उनले भने।
उनले पनि अहिले चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका करिब ९ सय उम्मेदवारहरू विवेकशील साझामा आउने विश्वास व्यक्त गरेका थिए। ‘स्वतन्त्रको पार्टी हुँदैन, मंसिर ४ पछि उहाँहरू जाने कहाँ त? विवेकशील साझामै हो,’ प्रवक्ता परियारले भने।
विवेकशील साझाले आज प्रदेश १ मा अगुवा कार्यकर्ता भेला पनि गरेको थियो।