निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ।
आयोगले कानूनको व्यवस्थालाई पूर्ण रूपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो।
आयोगले कानूनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनै पनि व्यक्ति र तत्वहरूलाई कारबाही गर्ने कुरामा पछि नहट्न निर्देशन दिएको हो।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानूनको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा निर्वाचन अधिकृतहरूले पूर्ण रूपमा पालना गर्न र गराउन निर्देशन दिए।
उनले निर्वाचन बिथोल्ने गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिई निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही प्रारम्भ गर्न निर्देशन दिए।
उनले कतिपय ठाउँमा जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता भएका उम्मेदवारहरू हुने भएको भन्दै फर्जी मतदान हुने खतरा रहेकाले त्यसतर्फ बढी चनाखो हुन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिए।
उनले भने, ‘हाम्रा सबै कानूनी व्यवस्था पूर्ण छन्। मात्रै पालना गर्नेले पालना गर्नुपर्छ, कार्यान्वयन गर्नेले कार्यान्वयन गर्नुपर्छ। म सबै मतदान अधिकृत साथीहरूलाई कानूनको व्यवस्थालाई पूर्ण रूपमा अध्ययन गर्न र आफ्नो तर्फबाट शतप्रतिशत कार्यान्वयन गराउन र यदि कसैले पालना नगरे त्यस्ता व्यक्तिलाई पनि कानून बमोजिम कारबाही गर्न खुट्टा नकमाउन पनि अनुरोध गर्दछु।’
उनले धेरै मतदान हुनु राम्रो भए पनि हुँदै नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटी र निर्वाचनप्रतिको अवज्ञा भएकाले त्यसतर्फ शतर्कता अपनाउन आग्रह गरे।
‘कानूनको प्रभावकारी कार्यान्वयनले नै निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुन्छ, कतिपय ठाउँमा मैले जसरी पनि विजय हासिल गर्नुपर्ने हुन्छ, निर्वाचन जित्नुपर्छ भन्ने मानसिकता बोकेका प्रतिनिधि र उम्मेदवारहरूको कारणले फर्जी मतदान हुने खतरा पनि रही रहने अवस्था हुन्छ’, उनले भने, ‘धेरै मतदान हुनु राम्रो हो तर हुँदै नभएका व्यक्तिको मतदाता नामावलीमा नाम भएको तर मतदान गर्ने दिन त्यहाँ उपस्थित नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटी हो र निर्वाचनप्रतिको यो अवज्ञा पनि हो।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान गरिसकेको व्यक्ति पुनः मतदान गर्ने ठाउँमा आउँदा विभिन्न व्यवधान हुनसक्ने कुरालाई ध्यानमा राखि सुरक्षा निकायसँग समन्वय गरी त्यस्ता गतिविधि हुन नदिन पनि आग्रह गरे।
उनले निर्वाचन मतदान कार्यमा उम्मेदवारका प्रतिनिधि र उम्मेदवारहरूको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने भएकाले निर्वाचन कार्यलाई निष्पक्ष र स्वतन्त्र बनाउने कुरामा सहयोग हुने अपेक्षा गरेको बताए।
उनले भने, ‘मतदान कार्यमा सहजता हुँदाहुँदै पनि मतदान गरिसकेको व्यक्ति पुनः मतदान गर्ने ठाउँमा आउँदा विभिन्न व्यवधान हुन सक्छन्, साथै नजिकको मतदान केन्द्रबाट मतदान गरिसकेर फेरि अर्को मतदान केन्द्रमा पनि मतदाताहरू गइदिने र त्यसले पनि अप्ठ्यारो स्थिति सिर्जना हुने गरेका छन्। यसमा सुरक्षा निकायसँग समन्वय गरी मतदान गर्नासाथ सबै मतदाताहरूलाई कुनै किसिमको भीडभाड हुन नदिई आफ्नो घरतर्फ जानको लागि प्रेरित गर्ने, यदि कसैले आनाकानी गर्छ, निर्देशन पालना गर्दैन भने कानूनबमोजिम कारबाही गर्नको निम्ति पनि आवश्यक प्रक्रिया प्रारम्भ गर्न अनुरोध गर्दछु।’
उनले निर्वाचन आयोगले निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन स्थानीय तहबाट नै स्वयंसेवकहरू परिचालन गर्ने पनि बताए।
‘निर्वाचन मतदान कार्यमा उम्मेदवारका प्रतिनिधि र उम्मेदवारहरूको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। हामीले स्थानीय तहबाट नै स्वयंसेवकहरू परिचालन गर्दछौं। उहाँहरूले पनि त्यो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ’, उनले भने, ‘यो विषयलाई गम्भीरतापूर्वक लिई सुरक्षा कार्यमा खटिने सुरक्षाकर्मी साथीहरूले समेत मतदान अधिकृतको निर्देशनलाई पालना गरी यदि कहीँ कसैले यस किसिमको प्रयत्न गरे तत्काल नियन्त्रणमा लिई निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही प्रारम्भ गर्नपनि विशेष अनुरोध गर्दछु।’