प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षा र स्थिरताका लागि अझै १०/१५ वर्षसम्म गठबन्धन कायमै राख्ने बताएका छन्।
उनले सत्ता गठबन्धन एकजुट भएर चुनावमा गएको पनि बताए। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिई बिजयी गराएमा गठबन्धन निरन्तर रहने उनको भनाइ थियो।
‘पाँच वर्षको अवधिमा केपी शर्मा ओलीले २ पटक संसद विघटन गर्नुभयो। हामी संविधानको रक्षाका लागि उत्रियौं, अदालत गयौं,’ काठमाडौं क्षेत्र नम्बर १० ले आयोजना गरेको चुनावी सभामा आज देउवाले भने, ‘संविधान रक्षा र स्थिरताका लागि गठबन्धन अझै आवश्यक छ।’
लोकतन्त्रलाई र संविधानलाई कसैले कमजोर नबनाओस् भनेर गठबन्धन गरिएको उनले बताए। काठमाडौं १० का उम्मेदवार कांग्रेस नेता राजन केसीलाई जिताएर पठाउन उनले आग्रह गरेका थिए।
केसी मेहनती र विकासप्रेमी नेता भएकोले उनलाई मन्त्री बनाउने आश्वासन पनि देउवाले दिएका छन्। काठमाडौं १० मा कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच मात्रै गठबन्धन छ।
‘कलंकी-थानकोट सडकको मुआब्जा दिन्छौं’
प्रधानमन्त्री देउवाले काठमाडौंको कलंकी-थानकोट सडक विस्तारका लागि मुआब्जा दिने बताएका छन्।
उनले चुनावपछि मुआब्जाको व्यवस्था गर्न काम गर्ने बताए।
‘कसैको सम्पत्ति विनामुआब्जा भत्काउन पाइँदैन। सरकारले मुआब्जा दिन्छ,’ उनले भने, ‘दु:ख गरेर पसिना बगाएर जोडेको सम्पत्ति हुन्छ, मुआब्जा दिइन्छ।’