नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताएका छन्।
शनिबार लोकतान्त्रिक-वाम गठबन्धन चितवनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा उनले प्रतिगमनका विरूद्ध संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको बताए।
‘निकै दुःख गरी गठबन्धन बनाइएकाले प्रतिगमको खतरा नटरेसम्म कायमै रहन्छ,’ उनले भने, 'जतिबेलासम्म राजनीतिक दुर्घटनाको खतरा रहिराख्छ, प्रतिगमनको खतरा रहिराख्छ, त्यतिबेलासम्म गठबन्धन कायम रहन्छ।'
निर्वाचनमा एकताको प्रदर्शन गरेर गठबन्धनका उम्मेदवारलाई विजय गराएपछि राजनीतिक दुर्घटना गराउन खोज्ने शक्ति पराजित भएर जाने उनको भनाइ थियो।
यस्तै, प्रचण्डले गठबन्धनको बहुमत सुनिश्चित रहेको र अत्यधिक बहुमत ल्याउने दाबी गरेका छन्।
‘हामीले सरकार गठन गर्नका लागि मात्र गठबन्धन बनाएका होइनौं। यो देशमा स्थिरता र विकासका लागि हो', उनले भने।
संविधानमा हस्ताक्षर गरेका दलहरूबाट नै संविधानमाथि प्रहार गर्ने काम भएको उनको भनाइ छ।
चितवनवासीले २०७४ सालमा विजयी बनाएर विकासको मोडल दिने अवसर दिएको पनि उनले बताए।
‘चितवनमा धेरै परियोजना ल्याएर धेरै काम भएका छन्,’ उनले भने, 'सडक सञ्जाल, शिक्षा, रोजगारी सबै प्राप्त भएका छन्।’
अबको आफ्नो जीवन विकास र आर्थिक समृद्धिका लागि संकल्प गरेको भन्दै उनले कसैको डर, धम्कीमा नलागी गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन्।