नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहले सुकुम्बासीहरूका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
भूमि आयोगको प्रतिवेदनलाई आधार मानेर सुकुम्बासीका समस्या चित्त बुझ्दो तरिकाले नै समाधान गर्न आफूले पहल गर्ने उनले बताए।
‘भूमि आयोगले काम सुरू गरिसकेको छ। निर्वाचनका बेला काम रोक्नु भनेर निर्वाचन आयोगले भनेकोले रोकिएको छ,’ उनले भने, ‘सुकुम्बासीका समस्या अध्ययन गरेर स्थायी रूपमै ती समस्या समाधान गर्छौं।’
सिंह आज बिहान थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासी बस्तीमा पुगेका थिए। उनले त्यहाँ आयोजित चुनावी घरदैलोमा सुकुम्बासीका समस्या चित्तबुझ्दो तरिकाबाट नै समाधान गरिने बताएका थिए।
‘भूमिहीनको चित्त बुझ्ने गरी हामी काम गर्छौं,’ उनले भने।