प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका छन्।
आइतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उनले हेलिकप्टरको प्रयोगको विषयमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका हुन्।
उनले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकाले त्यसतर्फ संवेदनशील बनेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगमा बिरामीको नाटक गरी चुनावी प्रचारप्रसार गरेका दुइटा उजुरी आएकाले आयोग कारबाहीको लागि अग्रसर रहेको बताए।
उनले निर्वाचन आचारसंहितामा ७२ घण्टा हेलिकप्टर उडाउन पाउने उल्लेख गरेका कारण संखुवासभामा चुनावी प्रचारमा समय गनेर नै ७२ घण्टामा विभिन्न १० ठाउँमा चुनावी प्रचारप्रसार गरेको पाइएकाले गृह मन्त्रालय गम्भीर बन्नुपर्ने देखिएको बताए।
उनले भने, ‘गृहको सन्दर्भमा हेलिकप्टरको प्रयोगको विषयमा अलिकति संवेदनशील हुनुपर्ने देखियो। अरू कामका लागि हेलिकप्टर प्रयोग नगर, सुत्केरी लिन जानुपर्ने होला, बिरामी बनाउनुपर्ने होला, ल्याउनुपर्ने होला, राज्यको कामसँग रिलेटेट काम होला। तर हुँदै नभएको बिरामी लिएर उडेको भन्ने दुइटा इस्यु आए। हिजो पनि आयो, संखुवासभाको केस पनि मनाङको केस पनि। यो त गम्भीर हो। यसमा हामी भोलि एक्सनमा जानुपर्छ। एक्सनमा जाँदा फेरि कतै सिडिओ, त्यहाँको एसपी साबतिर तेर्सिने हो कि? डिएसपी साबतिर तेर्सिने हो कि ? हेर्ने काम त उहाँहरूको हो। त्यसैले यसलाई कस्तोमा पाउने, कस्तोमा नपाउने? ७२ घण्टासम्म उडाउन पाउने भनेर लेखिदिएको हुन्छ, संखुवासभामा घण्टा हेरेर बसेछ, ७२ घण्टामा १० ठाउँ हेलिकप्टर लिएर गयो। त्यसको ठूलो उजुरी आइरहेको छ। यस्ता कुरामा गम्भीर बनिदिनुहोस्।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न निर्वाचनमा हालसम्म भौतिक उपस्थिति सहितको आचारसंहिता उल्लंघन कम रहे पनि सामाजिक सञ्जालमा भने निर्वाचन आचारसंहिता बढेको बताए।
उनले सामाजिक सञ्जालबाट आचारसंहिता उल्लंघन गर्नेहरूलाई कारबाही गरिरहेको भन्दै सामाजिक सञ्जालको प्रयोग गर्दा संवेनशील बन्न सबैको ध्यानाकर्षण गराए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मिथ्या सूचनाबाट निर्वाचनलाई फरक ढंगले प्रभावित हुने स्थिति देखिएको भन्दै आचारसंहिताका सन्दर्भमा अरूलाई लक्षित गरेर कुरा गर्न, चरित्र हत्या गर्ने, अपमान गर्ने, घृणा फैलाउने गतिविधि नगर्न सचेत गराए। उनले यस पटकको निर्वाचनमा धेरैजसो आचारसंहिता उल्लंघनका घटना टिकटकबाट भइरहेको बताए।
उनले भने, ‘अहिले भौतिक उपस्थिति सहितको आचारसंहिता उल्लंघन कम छ, तर अरू खाले बढ्दै गएको अवस्था छ। सामाजिक सञ्जालको विषय छ। सामाजिक सञ्जालको विषयलाई हामीले पनि सकेको कारबाही गरिरहेका नै छौं। सामाजिक सञ्जालको यो बीचको प्रयोग अत्यन्तै संवेदनशील विषय छ। अब यो मिथ्या सूचनाबाट निर्वाचनलाई फरक ढंगले प्रभावित हुने स्थिति देखियो र अर्को आचारसंहिताका सन्दर्भमा अरूलाई लक्षित गरेर कुरा गर्न चरित्र हत्या गर्ने, अपमान गर्ने, घृणा फैलाउने खाले कुरा भन्न पाइँदैन भनेको छ हाम्रा सबै कानूनमा। हामीले हाम्रा नेताहरूले पचाउनुहुन्छ, भन्ने गरेको छु, तर त्यो नसुहाउला। यस्ता किसिमका इस्युहरू युट्युब, भाइबर, फेसबुकबाट आइरहका छन्, अहिले बढी टिकटकबाट छन्।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले यस पटकको निर्वाचनमा मौन अवधि नरहेकाले निर्वाचनअघिको ४८ घण्टाको समयलाई कसरी व्यवस्थित बनाउने भन्नेमा आयोगले आवश्यक कार्य गरिरहेको पनि बताए।
उनले यस पटक आयोगले मौन अवधि नराखेको तर अहिले प्रचारप्रसार गर्न नपाउने अवधि भनिएकाले सो अवधिमा हुने आचारसंहिता विपरीतका गतिविधि रोक्न आयोग लागिपरेको बताए।
उनले नेपालमा प्रचारप्रसारमा गर्न नपाउने अवधिमा अवधिमा मित्र राष्ट्रका सञ्चार माध्यमहरूबाट प्रचारप्रसार गर्ने गरेको पाइएको भन्दै त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चुनौती आयोगलाई रहेको बताए।
उनले भने, ‘४८ घण्टा अघिको अवधिलाई हामीले कसरी म्यानेज गर्ने? हामीसँग त राजनीतिक दल र उम्मेदवारहरू झन्डै झन्डै ६ हजारको हाराहारीमा प्रत्यक्षतर्फको उम्मेदवार हुनुहुन्छ। समानुपातिक तर्फकाले त उल्लंघनमा नजानुहोला। त्योमध्ये एक्टिभ्ली उल्लंघन गर्नसक्ने सम्भावना भएकाहरू कति जना हुनुहुन्छ? तल हामीले कसरी आइडेन्टिफाइ गर्ने ? सबै त नहोला, केही नभए पनि १ हजार त होलान्। ती १ हजार जना उम्मेदवारको घण्टा घण्टाको गतिविधि नियन्त्रण गर्ने अर्थात् अवलोकन गर्ने, नियमन गर्ने र के–के गरिरहेका छन् भन्ने थाहा पाउनका लागि पहिला मौन अवधि भनिएको अहिले प्रचारप्रसार गर्न नपाउने अवधि भनिएको, अहिले मौन अवधि छैन। मित्र राष्ट्रका सञ्चार माध्यमबाट यताको प्रचारप्रसार अनि ४८ घण्टा अघि झनै प्रचारप्रसार, यता रोकिए पनि छिमेकमा गएर भन्न लगाउने, यता सुनिहाल्दो रहेछ रेडियोमा यसलाई कसरी नियन्त्रण गर्ने भन्ने देखिएको छ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले जिल्लामा आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही गर्न कन्जुस्याइँ भइरहेको भन्दै आयोगको निर्देशनलाई पूर्ण पालना गर्न जिल्ला निर्वाचन आचारसंहिता कार्यान्वयन समितिलाई निर्देशन दिए।
उनले आचारसंहिता उल्लंघन गर्नेमाथि अनुनय गर्ने नभई कारबाहीको प्रक्रियामा अघि बढ्न पनि निर्देशन दिए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गरेको भनी आयोगमा उजुरी परेपछि स्पष्टीकरण सोधिएका व्यक्तिहरूलाई जवाफसहितको फेहरिस्त मागेर कारबाही गर्नपर्ने बताए।