नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धनमा रहेका दलहरूका उम्मेदवार मंसिर ४ को चुनावबाट विजयी भएर आउने बताएका छन्।
उनले कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार फराकिलो मतले विजयी हुने पनि दाबी गरेका छन्।
आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले भने, ‘कांग्रेस नेतृत्वको गठबन्धन फराकिलो बहुमतले विजयी हुन्छ।’
उनले अहिलेकै गठबन्धनले मंसिर ४ पछि पनि सरकार बनाउने बताए। संविधान रक्षा र राजनीतिक स्थायित्वका लागि नयाँ सरकारले काम गर्ने पनि उनले बताए।
विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले बहुमत पाए पनि स्थायित्व दिन नसकेको उनको भनाइ थियो।