सेतोपाटी निर्वाचन विश्लेषणः सर्लाही- २
हामी सर्लाही क्षेत्र नम्बर २ मा पर्ने ब्रह्मपुरी गाउँपालिका- ७ को नोकेलबा पुग्दा साँझ छिप्पिँदै थियो। रामसागर राय बच्चा काखमा लिएर आँगनमै उभिएका थिए।
उनी दिनभरि आफ्नो खेतमा धान काटेर भर्खरै मात्र घर आइपुगेका रहेछन्। चुनावको कुरा झिक्नासाथ उनले महिन्द्र राय यादव र राजेन्द्र महतोमध्ये एउटाले जित्ने बताए।
तपाईंलाई कसले जित्दा राम्रो भन्ने प्रश्न भुइँमा खस्न नपाउँदै उनले भने, 'हामीलाई कसैले जितेर केही फाइदा छैन। यत्रो वर्षसम्म यिनीहरूले जितेर केही भएको छ? तर यहाँको जनतासँग अरू विकल्प नै छैन।'
दिनभरि खेतमा काम गरेका उनलाई साँझ आफ्नो बच्चा खेलाउनेभन्दा अरू कुनै कुरामा चासो नरहेको बताए।
'पटकपटक मन्त्री भएका नेताहरूको ठाउँ हेर्नुस् त,' धूले सडक देखाउँदै रामसागरले भने, 'हिजो आन्दोलनमा जनता चाहिँदा उनीहरू एकै ठाउँमा थिए तर अब विकास गर्ने बेलामा उनीहरू एकअर्काको विरोधी बनेको छन्।'
सर्लाही-२ मा २०५१ सालयता महेन्द्र यादव र राजेन्द्र महतोले मात्र सांसद जितेका छन्।
यी वर्षहरूमा मुलुकमा धेरै राजनीतिक उथलपुथल भएको छ। एकपटक जनआन्दोलन र तीनपटक मधेस आन्दोलन भयो। केन्द्रिकृत शासन व्यवस्थाबाट मुलुक संघीयतामा गयो। बलियो स्थानीय निकाय स्थापित भयो। राजनीतिक व्यवस्था बदलियो, नेताहरूले पार्टी बदले तर गाउँको अवस्था धैरै बदलिएन भन्ने गाउँलेहरूको गुनासो छ।
रामसागरको जस्तै असन्तुष्टि छ यहाँका अरू धेरै मतदाताको। यो निर्वाचन क्षेत्रमा मूल सडकबाहेक अरू विरलै सडक पक्की छन्। सदरमुकाम मलंगवाको हालत उस्तै छ। राजमार्गमा पर्ने नवलपुरबाट दक्षिण लाग्नेबित्तिकै सडक-बाटोको दुरावस्था सुरू हुन थाल्छ।
यहाँबाट पटकपटक जितेर मन्त्री बनेका महिन्द्र राय यादव र राजेन्द्र महतोलाई धेरै मतदाताले 'मन्त्री' भनेरै सम्बोधन गर्छन्। यी दुई नेताको पार्टीको नाम भने सबै मतदातालाई याद नहुने रहेछ। चुनावैपिच्छे नेताहरूले पार्टी फेरेकाले पनि होला!
२०६२\०६३ को दोस्रो जन आन्दोलनपछि मात्रै पनि महतो पाँचपटक मन्त्री भइसकेका छन् भने यादव तीनपटक। यादव २०४८ सालबाहेक सबै कार्यकालमा सांसद छन्। २०६४ मा समानुपातिक सांसद बनेकोबाहेक अरू सबै संसदमा उनी प्रत्यक्ष निर्वाचित हुन्।
महतोले २०५६ र २०६४ मा सर्लाहीबाट निर्वाचन जिते भने २०७० मा उनी यादवसँगै पराजित भएका हुन्। २०७४ मा महतोले धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचन जितेका हुन्।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का यादव र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महतो दुवैका दल सत्ता गठबन्धनमा छन्। दुवैले आफूलाई सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार भएको दाबी गरेका छन्। गठबन्धनले भने यादव आफ्नो आधिकारिक उम्मेदवार भएको बताएको छ।
पछिल्लो २८ वर्षदेखि महतो वा यादवलाई चुन्दै आएका मतदाता एक किसिमले दिक्क छन्। हामी गाउँ घुम्दा धेरै मतदाता, विशेषगरी युवा मतदाताले 'हाम्रोमा उम्मेदवार नै भएन' भन्दै असन्तुष्टि पोखे। जनमत पार्टीका सिके राउत 'हाम्रोमा उम्मेदवार भएको भए' भन्दै धेरै जना चुकचुकाए। सर्लाहीका गाउँमा राउत प्रतिको 'क्रेज' देख्दा यस्तो लाग्छ. उनी यहाँबाट लडेको भए चुनाव जित्न कठिन हुन्थेन।
सिके राउत, उपेन्द्र यादव र जयप्रकाश ठाकुर तीन जना प्रतिस्पर्धी रहेको सप्तरी-२ मा पनि हामी चुनाव 'कभर' गर्न जानेछौं।
अहिलेलाई भने सर्लाही- २ कै कुरा गरौं।
यसपालि पनि यहाँ मुख्य प्रतिस्पर्धा यिनै दुई नेताबीच हुनेछ। नेकपा एमालेका राजनारायण साह पनि 'रेस' मा छन्, तर उनी अलि पछाडि नै छन्।
हामीले यो क्षेत्रका धेरै वडाहरूमा पुगेर त्यहाँ भेटिएका २ सय ६१ जना मतदातासँग कुराकानी गरेका छौं। हामीले कुरा गरेका २ सय ६१ मध्ये सबैभन्दा धेरै ६८ जनाले (२६ प्रतिशत) नेकपा माओवादीको चुनाव चिह्न लिएर उम्मेदवार बनेका नेसपाका महिन्द्र राय यादवलाई भोट दिन्छु भनेका छन्। उनीहरूमध्ये धेरैले यसअघि पनि उनैलाई भोट दिएको बताए।
यसअघि कांग्रेसलाई मत दिएका १५ जनाले अहिले यादवलाई दिन्छु भने। त्यस्तै यसपालि उनलाई मत दिने भनेका ३ जनाले यसअघि माओवादीलाई दिएको बताएका छन्।
लोसपाका राजेन्द्र महतोलाई भोट दिन्छु भन्नेहरू ६२ जना (२३.६ प्रतिशत) छन्। महतोलाई भोट दिन्छु भन्नेहरू यसअघि मधेसवादी दलबाट उठेका यादवलाई दिएको बताउँछन्। त्यसको कारण के हो भने यसअघिको चुनावमा उनीहरू दुवै एउटै दलमा थिए। यसअघि कांग्रेसलाई मत दिएका २० जनाले पनि महतोलाई मत दिने बताए।
यसरी कांग्रेसबाट महतोलाई जाने मत यादवलाई जानेभन्दा केही धेरै छ। जबकि यादव गठबन्धनका आधिकारिक उम्मेदवार हुन्।
यसको कारण छ। महतोले प्रदेश सभामा बागी उठेका कांग्रेसका जंगीलाल रायलाई आफ्नो समर्थन दिएका छन्। उनलाई आफ्नो मत दिलाएर आफूले कांग्रेसको मत तान्ने उनको रणनीति छ। यसले केही काम गरेको पनि देखिन्छ। पहिले कांग्रेसलाई भोट हालेका मतदातामध्ये धेरैले महिन्द्रको तुलनामा महतोलाई मत दिने बताए।
नेकपा एमालेका राजनारायण साहलाई मत दिन्छु भन्नेको संख्या ४० जना (१५.३ प्रतिशत) छ। उनलाई मत दिनेहरू प्रायःले आफूहरू एमालेकै परम्परागत मतदाता भएको बताए। यसअघि यादवलाई मत दिएका ७ जनाले पनि उनलाई मत दिने बताए भने कांग्रेसलाई दिएका ४ जनाले पनि साहलाई मत दिने बताए।
त्यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीलाई भोट दिन्छु भन्नेको संख्या १९ छ (७.३ प्रतिशत) छ। यी १९ जनामध्ये आधाभन्दा धेरैलाई जनमत पार्टीको उम्मेदवारको नामसमेत थाहा छैन। यो क्षेत्रमा जनमत पार्टीले नरेशप्रसाद कुशवाहालाई उम्मेदवार बनाएको छ। यहाँका धेरै मतदातालाई जनमत पार्टीका नेता सिके राउतको नाम र सो पार्टीको चुनाव चिह्न माइक हो भन्ने थाहा छ।
जनमत पार्टीलाई भोट दिन्छु भन्नेहरू अधिकांश युवा छन्। सो पार्टीलाई समानुपातिकमा मत दिन्छु भन्नेको संख्या उम्मेदवारलाई दिने मतभन्दा धेरै, २८ छ।
यहाँ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिन्छु भन्ने हामीले ८ जना (३ प्रतिशत) भेट्यौं। राष्ट्रिय स्वतन्त्र पार्टीले यो क्षेत्रमा जय करण महतोलाई उम्मेदवार बनाएको छ।
हामीले कुरा गरेका मध्ये ४६ जनाले (१७.६ प्रतिशत) अहिलेसम्म कसलाई भोट दिने भनेर निर्णय गरिनसकेको बताए। तीमध्ये ९ जनाले यसपटक भोट कसैलाई नदिने बताएका छन् भने ३ जनाले हाकाहाकी जसले पैसा दिन्छ उसलाई दिने बताए!
यो क्षेत्रमा यी चार पार्टीबाहेकका अन्य पार्टी र स्वतन्त्र गरी १४ जना उम्मेदवार छन्। उनीहरूलाई भोट दिन्छु भन्नेको संख्या १८ छ।
पाइचार्ट:
स्थानीय तहको निर्वाचनमा यो क्षेत्रका वडाहरूमा आएको मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेस सबभन्दा ठूलो दल हो। उसले २४ हजार ६ सय २० मत ल्याएको छ।
जनता समाजवादी पार्टी (जसपा) ले १९ हजार ६ सय ४२ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १२ हजार ३ सय ७१ मत ल्याएको थियो। एमालेले ७ हजार ६ सय ७९ र माओवादी केन्द्रले ७ हजार ७ सय ३७ मत पाएको थियो। जनमत पार्टीले ३ हजार ४२ र नेकपा एकीकृत समाजवादी (एस) ले २ हजार २ सय २१ मत ल्याएको थियो।
२०७४ को निर्वाचनमा समानुपातिकतर्फ तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) ले २३ हजार ९ सय ९८, कांग्रेसले १५ हजार १ सय १, एमालेले ३ हजार २ सय ७१, नेकपा माओवादी केन्द्रले २ हजार ९ सय ७८ र तत्कालीन संघीय समाजवादी फोरमले ५ हजार १ सय १६ मत ल्याएको थियो।
२०७४ भन्दा यसपालिको स्थानीय तह निर्वाचनको परिस्थिति फरक बन्यो। स्थानीय तह निर्वाचनभन्दा संसदीय निर्वाचनको परिस्थिति अझै फरक छ।
जस्तो यो क्षेत्रका प्रमुख दाबेदार मानिएका महिन्द्र यादव र राजेन्द्र महतो २०७४ को निर्वाचनमा एउटै पार्टीमा थिए। तत्कालीन राजपाबाट यादवले सोही क्षेत्रबाट चुनाव जितेका थिए भने महतोले यो क्षेत्र छाडेर धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचन जितेका थिए।
स्थानीय तह निर्वाचनसम्म आइपुग्दा यादव जसपामा थिए भने महतो लोसपामा थिए। अहिले यादव जसपा छाडेर बाबुराम भट्टराईको नेसपामा छन् भने निर्वाचनमा माओवादीको चुनाव चिह्न लिएका छन्। त्यसैले यो क्षेत्रको स्थानीय तहमा जसपाले पाएको १९ हजार मतमध्ये धेरै मत यादवलाई व्यक्तिगत रूपमा आउन सक्छ। जबकि अहिले जसपा र एमालेको गठबन्धनबाट यो क्षेत्रमा एमालेका राजनारायण साह उमेदवार छन्।
यो क्षेत्रमा सबभन्दा बलियो मानिएको कांग्रेसको भने उम्मेदवार छैन। उसले सत्ता गठबन्धनका तर्फबाट यादवलाई सहयोग गरेको भए पनि सत्ता गठबन्धनले मित्रवत प्रतिस्पर्धा गर्ने भनिसकेको छ।
यादव र महतोलाई भोट दिनेका कारणबारे मतदाताका आफ्नै तर्क छन्।
मलंगवा- ११ गमहरियाकी अञ्जु यादवले गरिब र धनीमा विभेद नगर्ने, जनताको समस्या सुन्ने भएकाले यादवलाई भोट दिने बताइन्।
'हामीले त उहाँलाई पहिलादेखि नै भोट दिएको हो। यसपटक पनि उहाँलाई नै भोट दिने हो,' उनले भनिन्, 'उहाँले धनी, गरिब सबैलाई समान गर्नुहुन्छ। काठमाडौं जाँदा पनि समस्या पर्यो भने सुन्नुहुन्छ। सिँचाइका लागि उहाँले बजेट ल्याउनुभएको छ।'
यादवलाई भोट दिन्छु भन्नेहरू धेरैले उनले राम्रो काम गरेको भन्दा पनि उनले सबैलाई समान व्यवहार गरेको बताए। कतिपयले भने यादव भएकै कारणले भोट दिने बताए।
कविलासी-८ अगरबाका महेन्द्र राय यादवले पनि यादव जनतामा भिजेको नेता भएको बताए।
उनले भने, 'जनताको दुःखमा सँगै हुन्छ। बेटाको बिहेमा आउँदैन तर बेटीको बिहे सकेसम्म छोड्दैन। जनतालाई चाहिने त्यस्तै त हो नि! गठबन्धनको उम्मेदवार भएकाले हाम्रो नेताले जित्छ।
महतोलाई भोट दिन्छु भन्नेका पनि आफ्नै तर्क छन्। उनीहरू महतोले थोरै भए पनि विकास गरेको बताउँछन्।
मलंगवा- १० रेडक्रस चोकका महेन्द्र साहले महतोले अस्पताल बनाएको बताए। महतो पक्षधर धेरै मतदाताले अस्पतालको कुरालाई जोड दिएका छन्।
'महिन्द्र यादवले विकासको नाममा केही गरेका छैनन्। उनले त मन्दिर र मस्जिदलाई मात्रै पैसा दिन्छन्,' उनले भने, 'महतोका कारण अस्पताल आएको छ। अब जिताएपछि अरू कुरा पनि आउन सक्छ।'
एकथरी मतादाता भने यादवलाई हराउनकै लागि महतोलाई भोट दिनुपर्ने बताउँछन्। तर उनीहरूलाई महतो पनि मन परेको छैन।
'२५ वर्षसम्म चुनाव जितेर महिन्द्रबाट केही भएन। हाम्रोतिर खोला ठूलो छ। तर पुल अहिलेसम्म बनेको छैन,' हरिपूर्वा- ९ का आशिषकुमार साहले भने, 'महतो पनि राम्रो मान्छे कहाँ हो र? तर महिन्द्रलाई हराउन सक्ने उही हो। अरूले हराउन सक्ने भए अरूलाई भोट दिन्थेँ।'
उनले समानुपातिकतर्फ भने जनमत पार्टीलाई भोट दिने निर्णय गरिसकेका छन्।
एमालेलाई भोट दिनेहरूले भने अहिलेसम्म दुई नेताले पटकपटक जितेर केही नभएकाले यसपालि राजनारायण साहलाई जिताउने बताए।
ब्रह्मपुरी- ५ का ८१ वर्षीय रामचरण सिंह धूलो उडेको सडक छेउमा बसिरहेका थिए। उनले अहिलेसम्म सधैं महिन्द्र राय यादवलाई भोट दिए। तर यसपटक मत फेर्ने निर्णयमा पुगेका छन्।
'राजनारायण नयाँ हो। धेरैपटक हारेको छ। दुई जना मन्त्रीले केही गरेनन्,' उनले भने, 'यसपटक राजनारायणलाई भोट दिनुपर्छ। उसले गरेन भने अर्को पटक फेरौंला।'
हरिपूर्वा- ५ धनकौलकी मनतोरिया महतोले जनमत पार्टीलाई भोट दिने बताइन्।
'महिन्द्रलाई भोट दिएको थिएँ। काम गरेन। सिके राउतले विकास गर्छ,' उनले भनिन्।
यो क्षेत्रमा १ लाख १६ हजार मतदाता छन्। जसमध्ये यादव समुदायका मतदाता झन्डै ३८ हजार छन्। तीमध्ये अधिकांश यादव भोट महिन्द्रलाई जाने यहाँका मतदाताको दाबी छ।
मतदानका बेला जातीय आधारमा भोट जाने सम्भावना हामीले पनि देख्यौं। हामीले कुरा गरेका सबैजसो यादवहरूले महिन्द्र राय यादवलाई नै भोट दिने बताए। महिन्द्र असन्तुष्ट कतिपय युवा भोट महतोको साटो बरू जनमत पार्टीका उम्मेदवारलाई जान्छ। आफ्नो प्रतिस्पर्धीलाई मत नगएपछि त्यसको फाइदा पनि महिन्द्र यादवलाई नै हुन्छ।
हरिपूर्वा- ३ का राजेश यादवले भने यसपटक महिन्द्र यादवलाई भोट नदिने निर्णय गरिसकेका छन्। तर आफ्नो निर्णयले यादवलाई हराउन नसक्ने उनको बुझाइ छ।
'सबैले जितेकै छन्। एकपटक सिके राउतका उम्मेदवारलाई जिताउने भन्नेमा छु। तर महिन्द्रले नै चुनाव जित्छ,' उनले भने, 'मैले नदिएर मात्रै हुँदैन। मेरा बाआमाले महिन्द्रलाई भोट दिन्छन्। यादव र मुस्लिमको भोट अन्त जान गाह्रो छ।'
महिन्द्र यादव बलियो हुनुको कारण यहाँको मुस्लिम समुदायको मत पनि हो।
सरकारमा गएका बेलामा यहाँका धेरै मस्जिदहरूका लागि उनले सहयोग गरेका छन् भनेर यहाँका मतदाता भन्छन्। २४ हजार हाराहारीमा रहेका मुस्लिम मतदाता उनी र एमालेप्रति धेरै आकर्षित छन्।
संगठनमा राम्रो पकड यादवको अर्को बलियो पक्ष हो। कम्युनिस्ट स्कुलिङका यादव संगठन बनाउन सिपालु छन्।
'उनले विकासको नाममा सिन्को भाँचेका छैनन् भन्दा फरक पर्दैन। तर उनी मतदातासँग खरका छानोमुनि गएर बस्न सक्छन्। परालमा सुत्न सक्छन्। जुन कुराले यहाँका मतदाताको मन तानेको छ,' एक मतदाताले भने, 'धनी र गरिबमा उनले भेदभाव गर्दैनन्।'
राजेन्द्र महतोले मत पाउने पनि केही कारण छन्।
यादवप्रतिको आक्रोश नै महतोका लागि अहिले सबैभन्दा ठूलो हतियार हो। धेरैपटक अवसर पाएर पनि यादवले केही गर्न नसकेको आरोप उनीमाथि छ।
मधेसी दलबाट यादव अहिले माओवादीको कित्तामा पुगेका छन्। उनी माओवादीको चुनाव चिह्न लिएर लडेपछि कतिपय मधेसी मतदाता रिसाएका छन्। महिन्द्रले आफ्नो स्वार्थअनुसार पटकपटक पार्टी बदलेको महतोका समर्थकले आरोप लागाएका छन्।
महतोले चुनाव जित्ने आश गर्नुको अर्को कारण हो, गैरयादव मत र कांग्रेसको धेरै मत पाउने आशा।
सर्लाही- २ मा यादव समुदाय बाहेकका भोट एकीकृत गर्न महतो पक्षले प्रयत्न गरिरहेको छ। उनले यादवलाई मात्र बोकेको र अरूलाई वास्ता नगरेको महतो समूहको आरोप छ।
सेतोपाटी निर्वाचन विश्लेषणः
सेतोपाटी निर्वाचन विश्लेषणः ९- लालबाबुको घट्दो 'क्रेज' ले यसपालि शेखरलाई सजिलो
सेतोपाटी निर्वाचन विश्लेषणः ८- एमालेका महासचिव शंकर पोखरेललाई चुनाव जित्न कति सजिलो?
सेतोपाटी निर्वाचन विश्लेषणः ७- काठमाडौं ६ मा कांग्रेस-एमालेका उम्मेदवारभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल अगाडि
सेतोपाटी निर्वाचन विश्लेषणः ६ - कमल थापा दुईतिरबाट चेपुवामा
सेतोपाटी निर्वाचन विश्लेषणः ५ - राजेन्द्र लिङ्देनको भोट चुहिइरहेको र कृष्ण सिटौलाको थपिँदै गएको झापा-३ मा को बलियो?
सेतोपाटी निर्वाचन विश्लेषणः ४ - चुनाव आइसक्यो, काठमाडौं-१ अझै अनिर्णीत
सेतोपाटी निर्वाचन विश्लेषणः ३ - बाँके-२ मा राजा र मन्त्रीबीच 'काँटेका टक्कर'
सेतोपाटी निर्वाचन विश्लेषण: २- चितवन-२ मा रवि लामिछाने निर्वाचित हुने सम्भावना प्रबल
सेतोपाटी निर्वाचन विश्लेषण: १- एमालेका सुरेन्द्र पाण्डे 'रेड जोन' मा, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा